पेटमा पानी भरिएर सास फेर्नै कठिन, जीवन बचाइदिन याचना गर्दै ४ छोराछोरीकी आमा [भिडियो]

पेटमा पानी भरिएर सास फेर्नै कठिन, जीवन बचाइदिन याचना गर्दै ४ छोराछोरीकी आमा [भिडियो]

Sarita Nepali

पोखरा १४, चाउथे, बेलचौतारामा डेरामा बस्दै आएका जिते नेपाली मनकारी घरभेटी नहुँदो हो त यतिबेला सडकमा पुगिसकेका हुन्थे । आर्थिक अभावमा बिरामी श्रीमतीको उपचार गर्न सकेका छैनन् । श्रीमतीको रेखदेखमा खटिनुपर्दा मजदुरी काम गर्न बाहिर निस्कन समेत पाएका छैनन् ।

श्रीमतीको पेट फुलिएर श्वास नै रोकिने अवस्था भइसकेको छ । ४१ वर्षीया श्रीमती सरीताको कलेजो रोगका कारण पेट फुलिएको छ । तत्काल पेटको पानी फाल्नुपर्ने डाक्टरले सुझाएका छन् । तर उनीसँग पैसा छैन । ३ वर्षअघिदेखि नै रोगले थलिएकी श्रीमतीलाई नेपालीले मजदुरी काम गरी पैसा जम्मा गर्दै उपचार गर्दै आएका थिए । तर अहिले मजदुरी काम समेत भनेजस्तो नभएको र श्रीमतीकै रेखदेख गर्नुपर्दा घर छाड्न नमिल्ने भएपछि खान समेत नपाउने अवस्था भएको छ । ३ छोरा र १ छोरी रहेका यी दम्पतीको कमाईको अरु श्रोत छैन । आमासहित ठूलो परिवार बाँच्न नै धौधौ भइरहेको अवस्थामा श्रीमतीको रोगले गरिखाउँ न मरिजाउँ अवस्थामा पुगेको नेपाली बताउँछन् ।

घरभेटी दुर्गा नेपालले ५ महिनाअघि घरमा बसेदेखिको भाडा लिएकी छैनन् । उनैले वडामा सहयोग उठाउन सिफारिसदेखि अस्पतालसम्म जान भाडाको बन्दोबस्ती गरेकी छन् । तर अस्पताल पुगेपछि के ले उपचार गर्ने ? एक पैसो छैन भन्दै श्रीमतीलाई कोठाबाट अस्पताल लैजान सकेका छैनन् । घरभेटी दुर्गाले भनिन् – ‘एकदमै गरिब परिवारका रहेछन् । हाम्रो घरमा आएपछि बिरामी नै हुनुहुन्छ । अहिलेसम्म भाडा पनि लिएका छैनौं । म पनि एकल महिला परेँ । आफूले सक्दो त गरेकै छु । नगद सहयोग गर्न सकिएन । त्यसैले मिडिया गुहारेकी हुँ ।’

जिते नेपाली ४८ वर्षका भए । घर धादिङको ज्याम्रुङ हो । बुवाआमाको अभावमा हुर्किएका उनको नागरिकता पनि छैन । त्यही कारण श्रीमती सरीताको पनि नागरिकता बनेको छैन । उमेर पुगेका छोराछोरीको पनि नागरिकता नहुँदा जागिर छैन ।

लकडाउनपछि मजदुरी काम गरेरै नेपालीले श्रीमतीको उपचार गरिरहेका थिए । अहिले पैसा नै नभएर कलेजोले काम नगर्दा पेटमा भरिएको पानी निकाल्न सकिएको छैन । नेपाली भन्छन् – ‘पेट फुलेर देखेर पीडाले छट्पटाइरहन्छिन् । तत्काल पेटको पानी नफाले त्यसको असरले सास नै रोकिने अवस्था भइसक्यो । पेटको पानी झिकेमा १५ दिन जति आरामले बस्न सक्छिन् । यो अघि पनि ३ चोटी पानी झिक्दा उनलाई आराम भएको थियो । कलेजोको उपचारका लागि सहयोग गरिदिनुभए धर्म नै हुन्थ्यो ।’

सहयोग गर्न चाहने मनकारी व्यक्तिले 9846033286 मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds