काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ। शाहले गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका हुन्।
महानगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा ‘अनावश्यक केरकार’ गरिएको उल्लेख गरेको छ ।
‘आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो ।’
ट्राफिक प्रहरीले करिब ७ मिनेट उक्त सवारी साधनलाई रोकेर राखेको मेयर शाहको सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अबलम्ब नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।
मेयर शाहको सचिवालयले त्यस क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको आरोप पनि लगाएको छ । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो,’ शाहको सचिवालयले भनेको छ, ‘कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।’ उक्त घटनाबारे गृह प्रशासनले भ्रमक सूचना दिएको पनि शाहको सचिवालयको भनाइ छ ।
मेयर शाहको सचिवालयले ‘गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन’ पनि आग्रह गरेको छ ।
शनिबार साँझ भएको उक्त घटनापछि मेयर शाहले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाको सवारी साधन आगामी दिनमा रोकिए ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर धम्कीपूर्ण भाषामा लेखेका थिए । जसको चौतर्फी विरोध भएको थियो । शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा भने उक्त अभिव्यक्ति किन आयो भन्नेबारे केही उल्लेख छैन ।


सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह