काठमाडौँ । नयाँ सरकार गठन हुनुभन्दा एक साता अघि नै कुमार इङ्नाम सहरी विकास मन्त्रालयबाट बिदा भएका छन् । बिहीबार मन्त्रालय अन्तर्गतका उच्च कर्मचारी एवं मन्त्रालयसँग सम्बन्धित विभाग तथा निकायका प्रमुखसँग छलफल गर्दै मन्त्री इङ्नामले मन्त्रालय छाडेका हुन् ।
मन्त्री इङ्नामको सम्बोधनको सुरुवातमै आफ्नो आत्मालोचना गरे । उनले आफूलाई पङ्गु मन्त्रीको संज्ञा दिए ।
इङ्नाम आफूलाई इतिहासकै असफल मन्त्री भन्दै आफू कालोमोसो दल्न योग्य व्यक्ति भएको बताए । त्यस्तै, अर्थ मन्त्रालयदेखि सहरी विकास मन्त्रालयका सचिवदेखि कर्मचारीको कार्यशैलीसम्म उनले तिखो टिप्पणी गरे ।
‘मैले केही पनि काम गर्न सकिनँ । मलाई त कालोमोसो दलेर निकाले भइहाल्थ्यो नि,’ बिदाइ कार्यक्रममा उपस्थित कर्मचारीसँग उनले भने, ‘तीन वर्ष अघि नै बजेट गएको आफैँले पढेको विद्यालयको बजेट समेत निकासा गराउन नसक्ने म कति नालायक मन्त्री रहेछु भन्ने हिनताबोध भइरहेको छ ।’
उनले मन्त्रालयको जिम्मा लिँदा आफूले कुनै पनि काम गर्न नसकेको भन्दै आफूलाई हारेको संज्ञा दिए । आफूलाई असहयोग गर्ने कर्मचारीलाई उनले भोज खान सुझाव समेत दिए ।
‘ल म हारेँ, तपाईंहरूले जित्नुभयो । तपाईंहरू खुसी मनाउनुस्, भोज खानुस्’ उनले भने, ‘तर कुनै दिन तपाईंहरूले गरेको यो कुकर्म जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्छ ।’
उनको मुख्य असन्तुष्टि संसद भवन निर्माणको सम्बन्धमा रहेको पाइएको छ । आफूले पटक पटक अनुगमन गरेर निर्देशन दिँदा समेत काम नभएको र विभागको महानिर्देशक सरुवा गर्न खोज्दा चौतर्फी रूपमा असहयोग भएको उनको भनाइ छ । सिनियारिटीको आधारमा पठाउनुपर्छ भन्दा तीन करोड घुस लिएर कर्मचारी सरुवा गर्न खोजेको भनेर प्रचारबाजी गरिएको उनको आरोप छ ।
‘संसद् भवन किन समयमा बन्दैन? किन समय थपेको थप्यै गरिन्छ? कर्मचारीहरू किन अटेरी गर्छन्,’ उनले भने, ‘मैले काम डीजीलाई सरुवा गर्न खोज्दा सचिवज्यूले मान्नुभएन । केही दिनपछि मन्त्रीले ३ करोड घुस लिएर महानिर्देशक सरुवा गर्न लागेको भनेर हल्ला फिँजाइयो ।’
उनले मन्त्रालयको नेतृत्व सम्हाल्दा ठुलो उत्साह भए पनि काम गर्ने वातावरण र पद्धतिले आफूलाई असफल बनाएको बताए ।
मन्त्री इङ्नामले सहरी विकास मन्त्रालय सबैभन्दा भ्रष्ट रहेको आफूले पाएको बताए । मन्त्री हुनुभन्दा अघि आफूलाई भूमि व्यवस्था मन्त्रालयभित्र धेरै भ्रष्टाचार हुने गरेको जस्तो लागे पनि सहरी विकास र भौतिक योजना मन्त्रालय त्योभन्दा पनि अगाडि रहेको पाएको बताए ।
‘मैले पहिले भूमि व्यवस्थाका कर्मचारीलाई मुखैमा तपाईंहरू घुसिया हो भनेर सोधेको थिएँ, तर पछि बुझ्दा त यो मन्त्रालय (सहरी विकास) मा प्राविधिकहरूले धेरै खेलोफड्को गर्दा रहेछन् । टेक्निसकल कुरा जोकोहीले नबुझ्ने भएपछि यहाँ झनै सजिलो हुने रहेछ’ उनले भने ।
उनले ठेकेदारहरूसँगको नेक्सस, २ देखि ५ प्रतिशतको कमिसन सेटिङ र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति रहेको बताए । भेरिएसनलाई भ्रष्टाचारको मुख्य हतियारको रूपमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
मन्त्री इङ्नामले आफ्नो कार्यकालमा अरू मन्त्रालयमाथि अर्थ मन्त्रालयले कसरी दादागिरी देखाउने रहेछ भन्ने समेत थाहा पाएको बताए ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह