लमजुङमा ड्यूटीमा रहेका डाक्टरलाई हातपात तथा कुटपिट गर्ने वडा अध्यक्ष ऋषिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष बस्नेतले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका थिए ।
वडा अध्यक्ष बस्नेतलाई सोमबार साँझ लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेका हुन् । ‘वडाध्यक्षले आमालाई उपचारका लागि अस्पताल ल्याएका रहेछन्, उपचारका क्रममा विवाद हुँदा उनले डाक्टरलाई मोबाइलले समेत प्रहार गरेछन्’ – सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईंले भने, ‘मापसे पनि गरेको र मुक्का पनि प्रहार भएको डाक्टरहरुले बताएका छन् ।’
वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको अस्पताल प्रशासनले जनाएको छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गरेको बताइन्छ । वडाध्यक्ष बस्नेतले भने बिरामी भर्ना लिन नमानेर अन्तै लैजानु भनेपछि विवाद हुँदा आफूले चर्को आवाज मात्रै गरेको बताएका छन् ।
घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले अपराह्न ४ बजेमात्र प्रहरीमा जाहेरी दिए । उजुरी नपरेपनि सोमबार दिनभर वडाध्यक्ष बस्नेत भने प्रहरी नियन्त्रणमै थिए ।
लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले आमालाई भर्ना गर्ने क्रममा वार्डको नर्सिङ स्टेसनमा वडाध्यक्षले डाक्टरमाथि हातपात गर्दै नर्सलगायत कर्मचारीमाथि अपशब्द बोलेको बुझिएको बताए । ‘डा. सन्दीप ड्युटीमा हुनुहुन्थ्यो । वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको बुझिन्छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गर्नुभएछ‚’ उनले भने ।
डा. तिवारीका अनुसार बिरामी भर्ना गर्दा बिरामी वा आफन्तले मञ्जुरीनामा गर्नुपर्छ । राती साढे १० बजेपछि उक्त घटना भएको हो । पीडित डा. अधिकारीसहित अन्य ९ जनाले प्रहरीमा जाहेरी दिएको मेसु तिवारीले बताए । लमजुङको बेंसीसहर-१ उदिपुर घर भएका डा. अधिकारी लमजुङ अस्पताल आएको तीन महिना मात्रै भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो घटना कोही कसैबाट पनि हुन नहुने बताए ।
चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । बस्नेतविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्