दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरले तिहारका लागि आवश्यक फूल स्थानीय उत्पादनले धान्ने र बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगर फूलमा आत्मनिर्भर बनेको महानगरको दाबी छ ।
मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रमुख कडरियाले यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन ।
“स्थानीय किसानसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ”, उनले भने, “यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।”
पोखरामा कहाँकहाँ पाइन्छ सयपत्री फूल ?
पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र फूलविक्रीको लागि स्थान तोकेको छ । विभिन्न वडाका किसान बजारहरूमा फूल विक्री थालेको हो । आइतबार बिहानदेखि फूल विक्री सुरु भैसकेको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
पोखरा १७ विरौटा, वडा नम्बर १३, पोखरा १६ र १९ को ठूलीपोखरी, अमरसिंहचोक, कोलपाटन र पोखरा ३१ बेगनासमा फूल किन्न पाइन्छ । बेगनासको कोट देउराली सहकारी हो भने अरू सबै स्पट महानगरले नै खोलेको किसान बजार हो ।
महानगरपालिकाले सयपत्री फूलको मूल्यसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय किसानको समन्वयमा फूलको मूल्य तोएिको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच, १० देखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु चार र पाँचदेखि १० ग्रामको रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, एक सय ८० र रु एक सय ५० तोकिएको छ । यसैगरी प्रतिकेजी रु चार सय सयपत्री फूलको मूल्य तोकिएको छ ।
यसैगरी महानगरले रैथाने हाटबजारसमेत आजदेखि शुभारम्भ गरेको छ । हाटबजारमा स्थानीय उत्पादनका १० बढी प्रदर्शनी कक्ष रहेका छन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।
यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।
रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्यवस्तु कोदो, मकै, गहुँ, फापरलगायत तरकारीजन्य वस्तु पनि बिक्रीका लागि राखिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह