काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छाड्ने बताएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्कासन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए ।
‘म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निष्कासन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्न सक्छु,’ उनले भने, ‘रास्वपालाई रवि लामिछाने क्लबको रूपमा कब्जा गरिएको छ । पार्टी एलिडरको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिडरको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरूले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौं ।’
सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे ।
‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्यो ।’
उनले रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।
ढकालले आफू अझै पनि महामन्त्री रहेको जिकिर गरे । चाहेमा कुर्सीमा गएर बस्न सक्ने तर लफडा गर्ने पक्षमा नरहेको उनले बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन,’ उनले भने, ‘मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’
सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएकोमा त्यो म्याद नसकिँदै कारबाही गर्न नपाउने ढकालले बताए ।
उपसभापतिबाट निलम्बनको पत्र थमाइएकोमा पनि उनको असन्तुष्टि छ । सभापतिले अधिकार प्रत्यायोजन नगरीकन उपसभापतिले निलम्बन गर्न नसक्ने उनले तर्क गरे ।
‘राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको पत्र थमाउनु गलत छ । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ,’ उनले भने ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’