नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको गुनासो गर्दै पूर्ण समानुपातिक प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार काठमाडौंमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने प्रचण्डले स्पष्ट पारेका छन् ।
‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,’ उनले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा १० करोड र संघमा ५० करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’
अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पुँजीपति, नोकरशाह र माफियाहरूलाई नपचेको टिप्पणी गर्दै प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको बताए ।
‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिविना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेलबाहेक अरु हुन सक्दैन,’ उनले भने, ‘हाम्रो सहमतिविना संविधान संशोधन गर्ने उनीहरूलाई राजनीतिक र नैतिक दुबै अधिकार छैन ।’
तर, इमान्दरिताका साथ संविधान संशोधनको एजेन्डा उठाउन खोजे आफूहरू त्यसका लागि तयार हुने पनि प्रचण्डले स्पष्ट पारे ।
‘अग्रगमनमा जानका लागि हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई छ,’ उनले भने, ‘हामीले संविधान निर्माण गर्दा प्रष्टरुपमा हाम्रो एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो । तर यसमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौं भनेर नोट डिसेन्ट लेखेका छौं । अब हामी यो एजेन्डालाई लिएर अगाडि बढ्छौं ।’
करोडौं खर्च गरेर सांसद हुने र जितेपछि तँछाडमछाड गरेर मन्त्री बन्ने अवस्थाको अन्त्य गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरू कानून निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्रै मुलुकमा भ्रष्टाचार रोक्न सकिने उनको भनाइ थियो ।
आफूहरूको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण नै भएको उल्लेख गर्दै उनले सरकारबाट त्यही पहल गर्दा सरकार छाड्नुपरेको बताए ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह