दुर्गा प्रसाईं गुन्डा नाइके हो, यस्ता कामले राजसंस्था फर्कंदैन: भाटभटेनी सञ्चालक गुरूङ

दुर्गा प्रसाईं गुन्डा नाइके हो, यस्ता कामले राजसंस्था फर्कंदैन: भाटभटेनी सञ्चालक गुरूङ

'दुर्गा प्रसाईंको बिएण्डसीमा ढुंगा हाने के हुन्छ, मन रूँदैन?'

min-bahadur-gurung

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले दुर्गा प्रसाईं गुण्डा नाइके भएको टिप्पणी गरेका छन्।

यस्तै गुण्डा नाइके विगतमा धरानमा रहेको उल्लेख गर्दै गुरूङले व्यवसायीहरू त्यसबेला धरान छाडेर विराटनगर पलायन हुन पुगेको स्मरण पनि गरे।

प्रसाईंले विगत लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आए पनि राज्यले पुलपुल्याउँदा तीनकुने घटना घटेको र आगजनी, तोडफोड र दुई जना युवाको मृत्युसमेत हुन पुगेको गुरूङले बताए।

प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन थियो। सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट भवनमा ढुंगा प्रहार र लुटपाट हुँदा करिब ८० लाख रुपैयाँको क्षति पुगेको थियो।

लुटपाट गर्न आएकाहरूलाई भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले प्रतिकार गरेका थिए। उनलाई भाटभटेनीले ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरिदिएको छ।

सुरक्षा गार्डलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा सञ्चालक गुरूङले चैत १५ गते भाटभटेनीमा ढुंगा प्रहार र लुटपाट भएको बताए। राज्यले सुरक्षा दिन नसकेको पनि उनको भनाइ थियो।

‘एउटा गुन्डा नाइके, म भन्छु- दुर्गा प्रसाईं गुण्डा नाइके हो, गुण्डाकै नाइके हो त्यो,’ गुरूङले भने, ‘उसको चलन, क्रियाले राजसंस्था फर्कदैन, म ठोकुवा गरेर भन्छु, भाटभटेनीलाई ढुंगा हानेर, लुटपाट गरेर राजसंस्था फिर्ता हुन्छ? नेपालको संविधान मेटिन्छ? हामी बुझ्दैनौं?’

यस्तै प्रवृत्तिले गर्दा व्यवसायीहरूले देश छाड्ने अवस्था बनेको उनले बताए।

‘मैले लालपूर्जा हेरेर जग्गा किन्दा संगठित अपराध गर्‍यो भन्ने, सरकारी जग्गा व्यक्तिका नाममा ल्यायो, संगठित अपराध भनेर जेल हाल्ने मलाई, एउटा डनलाई छाडा छाड्ने?,’ उनले प्रश्न गरे, ‘यस्तो नाइकेको पछि नलाग्न आम नागरिकलाई आग्रह गर्दछु।’

उनले अन्यायका विरूद्ध लड्नुपर्ने पनि बताए।

‘चैत १५ गतेको आन्दोलनको लिडर, कमान्डर दुर्गा प्रसाईंको बिएण्डसी अस्पतालमा गएर हामीले ढुंगा हान्यो र लुटपाट गर्‍यौं भने के हुन्छ? प्रसाईंको मन रूँदैन, चित्त दुख्दैन? मीनबहादुर गुरूङ र भाटभटेनी परिवारको पनि मन दुखेको छ, यस्तो काम गर्न हुन्छ?,’ उनले प्रश्न गरे, ‘नेताहरूका घरमा ढुंगा हान्ने, आन्दोलनका नाइकेको घरमा हान्यो भने के हुन्छ? हामीले चाहेको यही हो? जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रपछिको परिघटना यही हो? यो निन्दनीय छ।’

आफू व्यवसायीसँगै सचेत नागरिक पनि रहेको उनले बताए। ‘म सरकारलाई भन्छु- एउटा नागरिकलाई जे पनि भन्न दिनु र जे पनि गर्न दिनु हुँदैनथ्यो। राज्यले के हेर्‍यो। व्यवसायी दलाल हो भन्न छुट दियो, बैंकको पैसा नतिर भनेर आह्वान गर्दा प्रसाईंलाई छुट दियो, त्यसैको परिणाम हो दुई जना नेपालका महान युवाको मृत्यु भयो,’ उनले भने।

राप्रपाका एक जना मित्र रहेको उल्लेख गर्दै उनले यो घटनापछि उनले फोन गर्न नसकेको बताए।

‘मेरो एक जना मित्र राप्रपाको एउटा पोजिसनमा हुनुहुन्छ, यसपालि उहाँले फोन गर्न सक्नुभएन। सानो घटना भए पनि फोन गर्ने गर्नुहुन्थ्यो, यसो गर्नुपर्ने उसो गर्नुपर्ने भन्नुहुन्थ्यो,’ उनले भने, ‘यस्तो गलत काम गरेपछि उहाँलाई पनि लाज लाग्यो होला, सम्पर्क गर्न सक्नु भएको छैन।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds