स्याङ्जाको वालिङ नगरपालिकाले “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि—हाम्रो चाहना” भन्ने नारासहित पहिलो वालिङ सडक खाना महोत्सव–२०८२ भव्य रूपमा गर्ने तयारी पूरा गरेको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
महोत्सवले स्थानीय स्वाद, संस्कृति र पर्यटनलाई नयाँ उचाइमा पुर्याउन टेवा मिल्नुका साथै वालिङको स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने जनाइएको छ ।
१६ जातजातिका परिकार एकै ठाउँमा
महोत्सवको सबैभन्दा ठूलो आकर्षण वालिङमा बसोबास गर्ने १६ जातजातिका मौलिक परिकार रहेका छन् ।
गुरुङ, मगर, थकाली, नेवार, राई, लिम्बू, तामाङ, कुमालसहित स्थानीय जनजातिका परम्परागत खानाका स्वाद, विधि र सांस्कृतिक अर्थ प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ । यसअघि विखण्डित रूपमा रहेका यी परिकारलाई समग्र रूपमा देखाउन मिल्ने भएकाले सांस्कृतिक पहिचान मजबुत हुने अपेक्षा समेत गरिएको छ ।
कला–संस्कृति र भेषभूषाको सामूहिक प्रस्तुति
परिकारसँगै १६ समुदायका नृत्य, भेषभूषा र परम्परागत रीतिरिवाज तथा जीवनशैली प्रस्तुत गरिनेछ ।
आँधीखोला सभ्यताको ऐतिहासिक पक्ष, स्थानीय संस्कृतिको विविधता र समग्र नगरको पहिचानलाई समेटेर तयार गरिएका प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन् ।
स्थानीय खानाको संरक्षण र प्रवर्द्धनमा जोड
स्थानीय चुलो–चौकाको स्वाद, पुरानो परिकार ढिंडो-गुन्द्रुकदेखि आधुनिक परिकारसम्मका खाना समेटेर महोत्सवले संरक्षण, पुनर्जीवन र बजार विस्तारमा जोड दिनेछ ।
नगरपालिकाले “मौलिक खानालाई आधुनिक बजारसम्म” पुर्याउने अभियानलाई यस महोत्सवबाट थप गति दिने योजना रहेको जनाएको छ ।
किसानका उत्पादन पनि प्रदर्शनीमा
स्थानीय किसानका फलफूल, तरकारी, मौसमी बाली, बीउ–बिजन तथा नवीन कृषि प्रविधिको प्रदर्शन गरिनेछ ।
उत्पादनमा आत्मनिर्भरता र स्थानीय बजार सक्रिय बनाउन यसले सहयोग पुर्याउने विश्वास नगरपालिकाले लिएको छ ।
सांगीतिक तथा मनोरञ्जन कार्यक्रम पनि आकर्षण
राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, युवामुखी कार्यक्रम, परिवारमै रमाउन मिल्ने सकिने स्टल र कार्यक्रम महोत्सवभर सञ्चालन हुनेछन् ।
आँधीखोला किनारमा तीन दिनसम्म महोत्सव
मंसिर १७ देखि १९ गतेसम्म महोत्सव पतञ्जलि योगपीठदेखि सुर्कौदी पुलसम्म फैलिने आँधीखोला करिडोर क्षेत्रमा सञ्चालन हुनेछ ।
आँधीखोलाको तटीय क्षेत्रलाई सांस्कृतिक र पर्यटन पूर्वाधारको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि नगरले अघि सारेको छ ।
बजेट र स्टल व्यवस्थापन
महोत्सवका लागि नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ । महोत्सवमा २५ स्टल रहनेछन् । कृषि स्टल निःशुल्क हुनेछन् भने अन्य स्टलले प्रतिदिन एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
स्थानीय खानाको संरक्षण, सांस्कृतिक विविधताको प्रवर्द्धन र नगर ब्रान्डिङका लागि पहिलो पटक आयोजना हुन लागेको वालिङ सडक खाना महोत्सवले व्यापक रुचि पाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस
पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला