देशकै प्रमुख सुन्तला उत्पादक जिल्ला स्याङ्जामा चालू आर्थिक वर्षमा सुन्तलाबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला सुपरजोन स्याङ्जाका अनुसार उत्पादन र क्षेत्र विस्तारसँगै आम्दानीमा उल्लेख्य वृद्धि भएको हो ।
जिल्लामा करिब दुई हजार चार सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तीमध्ये एक हजार चार सय २० हेक्टर क्षेत्रबाट मात्रै यस वर्ष २३ हजार दुई सय ३८ दशमलव पाँच मेट्रिक टन सुन्तला फलेको छ । प्रतिकिलो औसत ५७ रुपैयाँका दरले बिक्री हुँदा कुल मूल्य एक अर्ब ३२ करोड रुपैयाँ पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिइन् ।
यस वर्षको उत्पादन अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैयाँले बढी हो । गत आवमा २ हजार २५० हेक्टरमा सीमित रहेको सुन्तला खेती यस वर्ष करिब दुई सय हेक्टरले विस्तार भएको उनको भनाइ छ । अनुकूल मौसम, उत्पादन दिने बोटको संख्या बढ्नु र खेती क्षेत्र फराकिलो हुनु उत्पादन बढ्नुका मुख्य कारण मानिएका छन् ।
परियोजना प्रमुख अजय अधिकारीका अनुसार फूल फुल्ने र फल लाग्ने समयमा असिना पानी नपर्नु तथा रोग–किराको समस्या न्यून रहनुले उत्पादकत्वमा राम्रो सुधार आएको हो । “मौसमले साथ दिएमा आगामी वर्षहरूमा उत्पादन अझै बढ्नेछ,” उनले भने ।
उत्पादित सुन्तलामध्ये करिब १० प्रतिशत अर्थात् २ हजार ३५६ मेट्रिक टन जिल्लामै खपत हुने गरेको छ भने बाँकी २० हजार ८८२ मेट्रिक टन पोखरा, काठमाडौँ, चितवन र बुटवललगायतका बजारमा पठाइन्छ । यस वर्ष चिसोका कारण बुटवलतर्फ आपूर्ति केही घटेको जनाइएको छ ।
जिल्लाका ११ वटै पालिकामा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकालाई मुख्य पकेट क्षेत्र तोकिएको छ । यसैगरी फेदीखोला, आँधीखोला र बिरुवा गाउँपालिकामा नयाँ पकेट क्षेत्र विस्तार गरिएको सुन्तला सुपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विसं २०७३/७४ मा जोन र २०७५/७६ देखि सुपरजोन घोषणा भएसँगै स्याङ्जामा सुन्तला खेतीप्रति किसानको चासो बढ्दै गएको हो । निर्वाहमुखी खेतीबाट व्यवसायीक उत्पादनतर्फ किसान आकर्षित हुन थालेपछि सुन्तला जिल्लाको प्रमुख आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको छ ।
पाखो र भिरालो जमिनको सदुपयोग गर्दै अन्य बालीभन्दा सुन्तलातर्फ लाग्ने किसानको संख्या बढ्दो छ । सुन्तला खेतीबाट यहाँका कृषकले वार्षिक रूपमा प्रति परिवार २५ हजारदेखि ५५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
व्यापारीहरू सिधै बगैँचामा पुगेर सुन्तला खरिद गर्न थालेपछि किसानलाई बजारको चिन्ता पनि घट्दै गएको छ । रोपेको पाँच वर्षभित्र साधारण बिरुवाले र कलमी गरिएको बिरुवाले तीन वर्षमै फल दिन सुरु गर्ने भएकाले किसानको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।
सम्बन्धित खबर
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बालेनलाई कारबाहीसहित नागरिकता रद्दको माग गर्दै युवराज सफलले दिए उजुरी
कारबाट झरेर पैदलयात्रीलाई मुक्का हान्ने पक्राउ