फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबारदेखि मतदानमा खटिने कर्मचारीलाई नियुक्तिपत्र वितरण सुरु गरेसँगै जिल्लाभर चुनावी माहोल तातेको हो ।
जिल्लाभरका १९९ मतदान स्थलअन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा गरिएको छ । जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि छुट्टै अस्थायी मतदान केन्द्र तोकिएको छ । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार प्राविधिक तथा प्रशासनिक सबै तयारी सकिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा खटिने कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र क्षेत्र नम्बर २ मा खटिने कर्मचारीलाई सम्बन्धित क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र वितरण भइरहेको छ ।
जिल्लाभर मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी गरी कुल १ हजार ९३५ जना निर्वाचन कर्मचारी परिचालन गरिएको छ । दुवै निर्वाचन क्षेत्रमा तीन/तीन जना मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी कुल १२ जना निर्वाचन कर्मचारी जगेडाका रूपमा राखिएको कार्यालयले जनाएको छ ।
कर्मचारीहरूले नियुक्तिपत्र बुझिसकेपछि आ–आफ्नो मतदान केन्द्रमा पुग्ने कार्यतालिका बनाइएको छ । मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्मलाई आवश्यक तालिम दिइसकिएको छ । अब मतदान प्रक्रिया सञ्चालन, मतपेटिका ढुवानी र मतगणनाको काम मात्रै बाँकी रहेको प्रशासनले जनाएको छ । मतपेटिका सुरक्षित ढुवानीका लागि छुट्टै कार्ययोजना तयार गरिएको छ भने आवश्यक निर्वाचन सामग्री तथा मतपत्र हस्तान्तरणको काम पनि सुरु भइसकेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हरिनास, बिरुवा, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी गाउँपालिका, वालिङ (३ र ४), भीरकोट (१–४) र पुतलीबजार नगरपालिकाका १७१ मतदान केन्द्रमा खटिएका अधिकृतलाई जिल्ला निर्वाचन कार्यालयबाट सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र वितरण भइरहेको छ ।
यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत कालीगण्डकी गाउँपालिका, वालिङ (३ र ४ बाहेक), भीरकोट (१–४ बाहेक) र चापाकोट, गल्याङ नगरपालिकाका १५१ मतदान केन्द्रका अधिकृतलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री उपलब्ध गराइने जनाइएको छ । जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि तोकिएको अस्थायी केन्द्रमा पनि आवश्यक सामग्री पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउँदै निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे । कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेको र जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार निर्वाचनका लागि खटिने प्रहरीको कार्यस्थल निर्धारण गरी उनीहरूलाई सम्बन्धित मतदान केन्द्रतर्फ पठाइसकिएको छ ।
यसैबीच, आचारसंहिता अनुगमनका क्रममा हालसम्म लिखित र मौखिक गरी २५ वटा उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत प्रेम सुवेदीले जानकारी दिए । तीमध्ये केहीलाई लिखित स्पष्टीकरण मागिएको छ भने केहीलाई मौखिक रूपमा सचेत गराइएको छ । हालसम्म कुनै जरिवाना वा कडा कारबाही गरिएको छैन ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाको मूल्यांकनका आधारमा ५६ मतदान स्थललाई अति संवेदनशील, ७१ लाई संवेदनशील र ७२ लाई सामान्य श्रेणीमा वर्गीकरण गरेको छ ।
स्याङ्जामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । जिल्लाभर कुल दुई लाख ४८ हजार ८१६ मतदाता मतदानको प्रतीक्षामा छन् । निर्वाचनको तयारी पूरा भएसँगै अब स्याङ्जा मतदानको दिन कुरिरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते