यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा चुनाव सामग्री र मतपत्र वितरण गरिएको छ । मतदान अधिकृतलाई अभिमुखीकरण गरी नियुक्तिपत्र प्रदान गरेसँगै चुनाव सामग्री बुझाउने काम अघि बढाइएको हो ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आवश्यक सामग्री हस्तान्तरणसँगै अन्तिम तयारीलाई तीव्र बनाइएको हो । उनले ५१ प्रकारका निर्वाचन सामग्री मतदान अधिकृतलाई हस्तान्तरण गर्न थालिएको जानकारी दिए ।
“मतदान केन्द्रमा आवश्यक सम्पूर्ण सामग्री तयारी अवस्थामा छ । टाढाका केन्द्रमा खटिने कर्मचारीलाई प्राथमिकतामा राखेर वितरण सुरु गरेका छौं,” थापाले भने ।
जिल्लाका दुई निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ का मतदानस्थलमा खटिएका कर्मचारीलाई निर्वाचन कार्यालयबाट निर्वाचन सामाग्री तथा मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएको छ ।
यस्तै, क्षेत्र नम्बर २ का कर्मचारीलाई सम्बन्धित क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयबाट आजै निर्वाचन सामाग्री तथा मतपत्र बुझाउने तयारी गरिएको कार्यालयले जनाएको छ ।
मतदानस्थलमा पुगेपछि कर्मचारीले सूचना टाँस गर्ने, वरपर राखिएका प्रचार सामग्री हटाउने, आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने लगायतका काम सुरु गर्नेछन् ।
निर्वाचनका लागि मतदाता नामावली, स्वस्तिक छाप, लाहा, मतपेटिका सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, रबर म्याट, कपडा, कैँची, निर्देशिका, स्केल, कागज, सियो–धागो, सलाइ, ब्रोसरलगायत सामग्री वितरण गरिएको छ । जिल्लाभर तीन सयभन्दा बढी मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित करिब एक हजार पाँच सयभन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।
स्याङ्जामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र कायम छन् । स्याङ्जामा १ लाख २२ हजार ४६४ पुरुष, १ लाख २६ हजार ३५१ महिला र एक जना अन्य लिङ्गका मतदाता रहेका छन् । करिब २ लाखभन्दा बढी मतदाता रहेको जिल्लामा पुरुषको तुलनामा महिला मतदाता केही बढी छन् ।
जिल्लाभर १९९ मतदानस्थलअन्तर्गत ३२२ मतदान केन्द्र कायम गरिएका छन् भने जिल्ला कारागार स्याङ्जालाई अस्थायी मतदान केन्द्र तोकिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा ५६ केन्द्रलाई अतिसंवेदनशील, ७१ संवेदनशील र बाँकी ७२ केन्द्रलाई सामान्य रूपमा वर्गीकरण गरिएको छ ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारसहित तीन स्वतन्त्र उम्मेदवार गरी २४ जना प्रतिस्पर्धामा छन् । दलहरूले चुनावी प्रचारलाई अन्तिम चरणमा पुर्याएका छन् भने जिल्लामा चुनावी माहोल तातेको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?