फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री सोमबार नै पुर्याइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेपछि सामग्री हस्तान्तरण गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले मतदान केन्द्रमा खटिने कर्मचारीलाई चरणबद्ध रूपमा सामग्री बुझाइएको जानकारी दिए । उनका अनुसार कुल ५१ प्रकारका सामग्री तयार पारेर सम्बन्धित मतदान अधिकृतमार्फत केन्द्रसम्म पठाइएको छ । “दूरदराजका मतदान केन्द्रलाई प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको हो । अब सबै केन्द्रमा तयारी लगभग पूरा भइसकेको छ,” उनले भने ।
जिल्लामा रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ का मतदान केन्द्रका लागि आवश्यक सामग्री निर्वाचन कार्यालयमार्फत उपलब्ध गराइएको हो भने क्षेत्र नम्बर २ अन्तर्गतका केन्द्रका कर्मचारीले सम्बन्धित क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझिसकेका छन् । मतपत्रसमेत सुरक्षित तरिकाले सम्बन्धित केन्द्रमा पठाइएको जनाइएको छ ।
मतदानस्थलमा पुगेपछि कर्मचारीहरूले सूचना टाँस्ने, आसपासका प्रचार सामग्री हटाउने, आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने र मतदानस्थल व्यवस्थित बनाउने काम अघि बढाएका छन् ।
निर्वाचनका लागि मतदाता नामावली, स्वस्तिक छाप, मतपेटिका, मतपत्र, स्ट्याम्प प्याड, मसी, सिल, स्टिकर, रबर म्याट, कपडा, कैँची, निर्देशिका, कागज, सियो–धागो लगायतका सामग्री समयमै पठाइएको छ । जिल्लाभर तीन सयभन्दा बढी मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित करिब दुई हजार कर्मचारी परिचालन भएका छन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी दिए । उनका अनुसार मतदान अधिकृत, सहायक कर्मचारी, मतपेटिका र मतपत्रसहितका सामग्री सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा राखिएको छ ।
जिल्लाभर १९९ मतदानस्थलअन्तर्गत ३२२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकिएको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृतसहित आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदातालाई सहज वातावरणमा मतदान गर्न सक्ने गरी आधारभूत पूर्वाधारसमेत तयार गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा सुरक्षा संवेदनशीलताको मूल्यांकनका आधारमा ५६ केन्द्रलाई अतिसंवेदनशील, ७१ लाई संवेदनशील र ७२ केन्द्रलाई सामान्य श्रेणीमा राखिएको छ ।
स्याङ्जामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र कायम छन् । जिल्लामा कुल २ लाख ४८ हजारभन्दा बढी मतदाता छन्, जसमा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी छ । यहाँ १ लाख २२ हजार ४६४ पुरुष, १ लाख २६ हजार ३५१ महिला र एक जना अन्य लिङ्गका मतदाता रहेका छन् ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारसहित तीन स्वतन्त्र गरी २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । स्याङ्जा जिल्ला अन्तर्गत क्षेत्र नम्बर १ मा एक जना स्वतन्त्र उम्मेदवारसहित ११ राजनीतिक दलका गरी कुल १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी, क्षेत्र नम्बर २ मा दुई जना स्वतन्त्रसहित कुल १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचनका दिन शान्ति सुरक्षालाई प्राथमिकतामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा अन्य सुरक्षा निकायलाई आवश्यक स्थानमा परिचालन गरिनेछ ।
संवेदनशील र अति संवेदनशील केन्द्रमा थप निगरानीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए । सबै मतदातालाई सुरक्षित रूपमा मतदान गर्न आवश्यक व्यवस्था मिलाइएको उनले भने ।
निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी चहलपहल बढेको छ । कर्मचारी र सुरक्षाकर्मी केन्द्रतर्फ खटिएसँगै गाउँ–सहरमा चुनावी माहोल थप सक्रिय बनेको छ ।
निर्वाचन कार्यालयले मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आह्वान गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते