चरम निराशा र गुटबन्दीका कारण ठूला दलले आफ्नै कार्यकर्ताको मत समेत गुमाए: संविधानविद्

राजनीति

चरम निराशा र गुटबन्दीका कारण ठूला दलले आफ्नै कार्यकर्ताको मत समेत गुमाए: संविधानविद्

chandrakanta-gyawali

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा पुराना ठूला दलहरूले आफ्नै कार्यकर्ताको मत समेत गुमाएको बताएका छन्।

पार्टीभित्रको चरम गुटबन्दी र नेताहरूमा देखिएको एकाधिकारका कारण कार्यकर्ताले चुनावमा आफ्नै दललाई भोट नदिएको उनको भनाइ छ।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै डा. ज्ञवालीले यस्तो बताएका हुन्।

सरकार र पार्टी सञ्चालनमा देखिएको गुटगत प्रवृत्तिको प्रत्यक्ष असर चुनावको मतपरिणाममा देखिएको उनले औँल्याए।

डा. ज्ञवालीले भने, ‘पार्टीभित्र फलानो गुटको सरकार, फलानो दाइको सरकार भन्ने जस्तो भयो। आफ्नै पार्टीको सरकार हो भन्ने अपनत्व आम कार्यकर्ताले महसुस गर्न सकेनन्।’

उनले समानुपातिकतर्फ विगतमा लाखौं मत ल्याउने दलहरू अहिले निकै तल झर्नुमा आफ्नै कार्यकर्ताले भोट नदिनु मुख्य कारण रहेको सुनाए।

पुराना दलहरू ४० सिटमा खुम्चिँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित दुई तिहाइ नजिकको सफलता पाउनुलाई उनले स्वाभाविक र जनताको सचेत निर्णय मानेका छन्।

ज्ञवालीले भने, ‘जनता सार्वभौम छन्। उनीहरूले आफ्नो बालिग मताधिकार र विवेक प्रयोग गरेर दिएको मतलाई अस्वाभाविक भन्न मिल्दैन।’

विगत ३० वर्षदेखि ठूला दलहरूले पटक-पटक सरकारको नेतृत्व गरे पनि सुशासन र स्थिरता दिन नसकेको उनको निष्कर्ष छ। विगतमा कांग्रेस र वाम गठबन्धनले पाएको दुई तिहाइ नजिकको मतको समेत सदुपयोग नभएको उनले स्मरण गराए।

देशमै रोजगारी सिर्जना हुने, देश सिंगापुर र मलेसियाजस्तै बन्ने जनताको अपेक्षा पूरा नभएपछि नागरिकस्तरमा विचार र मतको परिवर्तन भएको ज्ञवालीले बताएका छन्।

उनले अब बन्ने नयाँ सरकारले पनि विधिको शासन मानेर नागरिकलाई घरदैलोमै राज्यको उपस्थिति महसुस गराउनुपर्ने चुनौती रहेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ