पोखरा । धादिङ स्थित बेनीघाट रोराङ गाउँपालिकाको चरौदीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
पोखराबाट काठमाडौं जाँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको थियो। बस भैँसीगौडास्थित सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १९ जना पुगेको छ। २५ जना घाइते फेला पारेकामा २४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । तीमध्ये २ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । एक जनाको ट्रमा सेन्टरमा ज्यान गएको हो । १७ जनाको घटनास्थलबाटै शव निकालिएको थियो ।
मृतकमध्ये २ जना विदेशी नागरिक छन् । मृत्यु भएका एक जना विदेशी नागरिकको परिचय भने खुलेको छ । परिचय खुलेका विदेशी नागरिक STEWART DOMINICETHAN छन् । उनी बेलायतका हुन् ।

घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने बताएकी थिइन्।
बसमा सवारको प्रारम्भिक विवरण आए पनि घाइते र मृतकको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ। बसमा मुग्लिनबाट २ जना वा ३ जना चढेकोबारे यकिन नभएको प्रहरीले बताएको छ ।

बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सञ्चालन गरेको बसमा केही विदेशी नागरिक पनि चढेका थिए।
बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीका अनुुसार बस धनी ओमकुमार श्रेष्ठ पनि त्यही बसमा थिए। उनको घटनास्थलमै मृत्यु भएको छ। गाडी चालकको अवस्था अज्ञात छ । उक्त बसको चालक सुजित नेपाली रहेका छन् ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमान्डमा टोली खटिएको थियो । यस्तै नेपाल प्रहरी, नेपाली सेना, स्थानीय र्याफ्टिङ व्यवसायी र स्थानीय समेत उद्धारका खटिएका थिए ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

बस सडकबाट तल त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको छ । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ भएको थियो ।
दुर्घटनाको कारण खुलेको छैन ।

सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण