पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री

राजनीति

पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री

ganess paudel

पोखरा । बालेन्द्र शाहले प्रधानमन्त्रीमा आफ्नो नियुक्तिसँगै कास्कीलाई पनि महत्वपूर्ण मन्त्रालय दिएका छन् ।

बालेनका निकटका मित्र गनेस पौडेलका नामले परिचित खडकराज पौडेललाई बालेन नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरिएको छ ।

पर्यटनको राजधानी पोखराबाट निर्वाचित पौडेलले शक्तिशाली पर्यटन मन्त्रालयकै बागडोर सम्हाल्न पाएका छन् । कास्की १ बाट निर्वाचन जितेपछि बालेनले आफ्ना विश्वासपात्र गनेसलाई उनको सहर सुहाउँदो मन्त्रालय पर्यटन सुम्पिएका हुन्। पोखरा–१४ मझेरीपाटनका स्थायी बासिन्दा पौडेल एक लेखक, शिक्षक र सामाजिक अभियन्ता हुन् ।

अंग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबिए गरेका उनले १५ वर्षभन्दा बढी शिक्षण अनुभव हासिल गरेका छन् । ‘र्‍यान्डम रिडर्स सोसाइटीको नेतृत्व गरिसकेका पौडेल ‘अटेरी’ अभियानका प्रवर्तकसमेत हुन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य छन् ।

‘पैताला’ कृतिका लेखक उनी साहित्यकारका रूपमा चिनिन्छन् । उनले जोन स्टेबेकको यो उपन्यास ‘अफ् माइस एन्ड मेन’ नेपालीमा अनुवाद गरेका छन्।

२०७४ पछिको नेकपा नेतृत्व सरकारमा युवा नेता रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालय हाँक्ने अवसर पाएका थिए। सांसद सपथ लिएपछि रवीन्द्र सम्झिएका उनलाई रवीन्द्रले हाँकेको मन्त्रालयको जिम्मेवारी आएको हो।

रवीन्द्रको विरासत थाम्दै राजनीतिमा होमिएकी उनकी जीवनसाथी विद्या भट्टराईले भने तत्कालीन केपी ओली सरकारमा शिक्षा मन्त्रालय सम्हाल्न पाइन्। त्यसो त २०५६ मा निर्वाचित भएका कास्कीका महादेव गुरुङ पर्यटन राज्यमन्त्रीसम्म हुन पाएका थिए।

कास्कीबाट २०४८ सालपछि तारानाथ रानाभाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए। ७४ सालपछि भने रानाभाटकै गाउँका यज्ञबहादुर थापा उक्त मन्त्रालय सम्हाल्न पाउने अर्का नेता भए। यीबाहेक शक्तिशाली मन्त्रालय पाउने गनेस नै हुन्।

मझेरीपाटनमा २०३६ असोज १६ गते जन्मिएका गनेस स्वयं पोखरा विमानस्थलबाट विस्थापित हुन्। जसको निर्माणताका उनले विमानस्थल पीडितहरुको न्यायका लागि निर्मित संघर्ष समितिको नेतृत्व गरेका थिए। विमानस्थलले बुढीआमासहित गनेसलाई घरबाट विस्थापित गरी डेराबासी बनाइदिएको थियो।

त्यसो त २०३२ सालमा विमानस्थलका लागि जग्गा अधिग्रहण हुँदा पनि गनेस र उनका छिमेकीसमेत गरी सिंगो गाउँ विस्थापित हुनुपरेको थियो। २०७३ सालमा निर्माण सुरु भएपछि फेरि दोस्रोपटक पौडेल परिवार विस्थापनमा पर्‍यो, उनको घर भएको ठाउँ अहिले विमानस्थलभित्र पर्छ। जग्गा मुआब्जा लगायत सबै काम सकेर विमानस्थल बनिसक्यो र सञ्चालनमा पनि आइसक्यो। अब गनेसको जिम्मेवारी भने पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने चाँजोपाँचो मिलाउने हुनेछ।

परम्परागत राजनीतिलाई अटेर गर्ने भन्दै अटेर अभियानमात्रै उनले त्यतिबेला घोषणा गरेनन्, लौरो चुनाव चिन्हसहित पोखरा महानगरपालिको मेयरमा उम्मेदवारी दिए। त्यही निर्वाचनमा हो, काठमाडौंमा बालेन शाह मेयरको स्वतन्त्र उम्मेदवार बनेर जितेको।

गनेस शालीन छन्, अध्ययनशील र बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्थे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds