सरकारले भदौ २३ गतेको हिंसाको आरोपित भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेसँगै कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ ।
पुसको अन्तिमसाता काठमाडौंमा भएको विशेष महाधिवेशन विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओली र कांग्रेस नेतासमेत रहेका तत्कालिन गृहमन्त्री लेखक पक्राउपछि कांग्रेसका दुबै समूह सहतमा देखिएका हुन् ।
शनिबार बिहान ओली र लेखक पक्राउपछि कांग्रेसका धारणा बारे चासो र चर्चा भइरहेका बेला पूर्णबहादुर खड्का र देवराज चालिसेले साँझ अलग अलग विज्ञप्ति जारी गरेका छन् ।
खड्काले १४औं महाधिवेशनको निरन्तरताका रुपमा कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेका छन् भने चालिसेले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीको धारणा सार्वजनिक गरेका छन् ।
चालिसेले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गर्दै पाँच बुँदे धारणा बाहिर ल्याएको छ । सरकारलाई उत्तेजनामा नआउन आग्रह गर्दै चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ ।’
भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनु पर्ने जनाउँदै दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने जनाइएको छ ।
तर खड्काद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद जनाएको छ । आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई तयार रहन उनले आग्रह गरेका छन् ।
‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं ७२१ को सिफारिसबमोजिम अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकामा कुनै प्रक्रिया पूरा नगरी तत्कालिन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप र राजनीतिकरूपमा पूर्वाग्रह प्रेरित रहेको जनाइएको छ ।
‘आयोगको कार्यादेशबमोजिम भदौं २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नु पर्नेमा भदौ २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएको नोक्सानी र संलग्न व्यक्तिहरूबारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट छ,’ भनिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा गगनकुमार थापा नेतृत्वको कार्यसमितिले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई प्रशिक्षणपछि विज्ञप्ति जारी गरेको हो । खड्काको नेतृत्वमा ठमेलको रमादा होटलमा शनिबार बैठक बसेर धारणा बनाइएको हो । चालिसे र खड्काद्वारा जारी फरक फरक विज्ञप्तिको लेडर प्याडमा पनि अलग अलग छन् ।
सम्बन्धित खबर
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
ओली रिहाइको माग गर्दै सडकमा एमाले, पोखरामा पनि प्रदर्शन
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ, दुवैलाई थुनामै राखेर अनुसन्धान गर्न म्याद मागिने
पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री
निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री कार्की
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष