जनताले कुनै दल लक्षित विद्रोह गरेका होइनन्, उनीहरूले केवल सुशासन खोजेका हुन्: सांसद थकाली

राजनीति

जनताले कुनै दल लक्षित विद्रोह गरेका होइनन्, उनीहरूले केवल सुशासन खोजेका हुन्: सांसद थकाली

yogesh thakali

नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले देशमा बढ्दो निराशाको मुख्य कारण भ्रष्टाचार र सुशासनको अभाव रहेको बताएका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले जनताले राजनीतिप्रति आक्रोश पोख्नु स्वाभाविक भएको भन्दै यो अवस्था सुधार्नुपर्नेमा जोड दिए।

थकालीले भने, ‘विगत ३०-३५ वर्षदेखिको भ्रष्टाचार, सुशासनको अभाव र पारदर्शिता नहुनु नै आजको यो निराशाको कारण हो।’

उनले जनताको यो आक्रोश कुनै एक व्यक्ति वा दलप्रतिको मात्र नभई समग्र प्रणालीमाथिको अविश्वास भएको सुनाए। ‘जनताले कुनै दल विशेषको विद्रोह गरेका होइनन्, उनीहरूले केवल समान अवसर र सुशासन खोजेका हुन्,’ थकालीले थपे।

राजनीतिक दलहरूले विगतका गल्तीहरूबाट सिक्नुपर्नेमा जोड दिँदै उनले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए। ‘हामीले आत्मसमीक्षा र आत्मालोचना गर्न जरुरी छ। जनभावना, जनइच्छा र आकांक्षा धेरै ठूला थिएनन्, उनीहरूले केवल नेपालमै अवसर र सुशासन खोजेका थिए,’ उनले सुनाए।

पार्टीभित्र र समग्र राष्ट्रिय राजनीतिमा पनि युवाहरूको भूमिका बढ्नुपर्ने उनको धारणा छ। उनले भने, ‘अबको राजनीति ५-१० वर्षको लागि मात्र होइन, आउँदो ५०-६० वर्षसम्म नेपाललाई डोहोर्याउन सक्ने दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्छ।’

उनले आफू र अन्य युवा सांसदहरूले यो जिम्मेवारी बोध गरिसकेको र अबको दिनमा परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

संसदमा युवा प्रतिनिधित्व बढे पनि अनुभवको कमी हुन सक्ने प्रश्नमा थकालीले भने, ‘अनुभवको कमी हुन सक्छ, तर हामीसँग काम गर्ने जोस, जाँगर र इमानदारी छ। हामी पुरानो पुस्ताका नेताहरूसँग सिक्दै नयाँ भिजनका साथ अघि बढ्न तयार छौं।’

उनले लोकतन्त्रमा सबै दलहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै राष्ट्रिय मुद्दाहरूमा सबै एकमत हुनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ