स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

Syangja-Coffee-Seed-at-Space

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका कृषक बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ । अरविका जातको उक्त बीउ जापानमार्फत अन्तरिक्षमा पठाइएपछि पुनः नेपाल ल्याइएको हो ।

अर्यालको ‘फार्म्स प्यासन’ ब्रान्डअन्तर्गत उत्पादन गरिएको कफी बीउ नेपालबाट पहिलो पटक अन्तरिक्षसम्म पुगेको दाबी गरिएको छ । २०८२ वैशाखमा जापान पठाइएको बीउ साउन महिनामा अन्तरिक्षमा पुगेको र करिब एक वर्षपछि गत चैत १५ गते नेपाल फर्काइएको बताइएको छ ।

कृषकका छोरा उबित अर्यालका अनुसार हाइड्रोजन बेलुनमार्फत पठाइएको बीउ करिब २७ किलोमिटर उचाइसम्म पुगेको थियो । त्यहाँ तीन घण्टाजति राखेर पुनः पृथ्वीमा फर्काइएको उनले बताए । बीउसँगै नेपालको झण्डा पनि अन्तरिक्षमा पुर्‍याइएको थियो ।

अन्तरिक्षबाट फर्किएको बीउ वैशाख ५ गते अर्यालको करेन्डाँडास्थित नर्सरीमा रोपिएको छ । जापानको ताकुशिमा विश्वविद्यालयले अनुसन्धानका लागि उक्त बीउ अन्तरिक्षमा पठाएको जनाइएको छ ।

कृषक अर्यालका अनुसार अन्तरिक्षमा माइनस २८.१ डिग्री सेल्सियससम्म पुगेको तापक्रमले बीउमा कस्तो असर पार्छ भन्ने अध्ययन गर्न प्रयोग गरिएको हो । रातो चेरी, पार्चमेन्ट र ग्रीन बिन गरी तीन प्रकारका २० ग्राम कफी बीउ पठाइएको थियो ।

हाल पार्चमेन्ट बीउ नर्सरीमा उमार्न राखिएको छ भने रातो चेरी र ग्रीन बिन प्रदर्शनीका लागि सुरक्षित राखिएको छ । अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणका कारण बीउको संरचना, वृद्धि र उत्पादन क्षमतामा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

नर्सरीमा रोपिएको बीउ करिब ६० दिनभित्र उम्रने अपेक्षा गरिएको छ । उम्रिएपछि बिरुवालाई छुट्टै बगैंचामा सारेर थप परीक्षण गरिने तयारी छ ।

अर्यालले विगत १०–१२ वर्षदेखि वार्षिक करिब एक टन कफी जापान निर्यात गर्दै आएका छन् । आफ्नै उत्पादनसँगै स्थानीय किसानबाट खरिद गरिएको कफी पनि विदेश पठाउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ