विद्यालयलाई केवल पठनपाठनको थलोमा सीमित नराखी उत्पादन र प्रविधिसँग जोड्ने अभ्यास फेदीखोला गाउँपालिकाले थालेको छ । गाउँपालिकाले एकैसाथ विद्यालय परिसरमा कफी खेती विस्तार गरेको छ भने कक्षाकोठामा भर्चुअल शिक्षाको व्यवस्था पनि गरेको छ ।
यसअन्तर्गत फेदीखोला गाउँपालिका–३ भाटखोलास्थित जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा एक हजार कफीका बिरुवा रोपिएको छ । विद्यार्थीलाई कृषि उद्यमसँग जोड्ने, बाँझो जमिनको सदुपयोग गर्ने र उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
विद्यालय परिसरको करिब १४ रोपनी क्षेत्रफलमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिकहरूको सहयोगमा कफीका बिरुवा रोपिएको हो । विद्यार्थीले अध्ययनसँगै कृषि अभ्यास गर्न पाउने र त्यसले उद्यमशीलता विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष सुवेदीका अनुसार स्थानीयस्तरमा कफी खेती विस्तारलाई प्राथमिकतामा राखिएको छ । चालू आर्थिक वर्षभित्र पालिकाभित्रका दुई हजार रोपनी क्षेत्रफलमा २० हजारभन्दा बढी कफीका बिरुवा रोप्ने लक्ष्य रहेको उनले बताए ।
बाँझो जग्गामा कफी खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ प्रोत्साहन रकम दिने नीति लिइएको उनको भनाइ छ । सोही कार्यक्रमअन्तर्गत विद्यालयमा पनि कफी खेतीको नमुना विस्तार गरिएको हो ।
यता, शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउन गाउँपालिकाले जनप्रिय माध्यमिक विद्यालयमा भर्चुअल शिक्षण, ई–लर्निङ सामग्री तथा आवश्यक उपकरण व्यवस्थापन योजना हस्तान्तरण गरेको छ । करिब १० लाख रुपैयाँको लागतमा तयार गरिएको उक्त योजनाले डिजिटल माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
कृषि र प्रविधिलाई एउटै थलोबाट अघि बढाउने गाउँपालिकाको यो अभ्यासले विद्यालयलाई केवल परीक्षा दिने केन्द्र नभई सीप, उत्पादन र आधुनिक शिक्षाको प्रयोगशालाका रूपमा विकास गर्ने प्रयास देखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला