एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

Krishna Bote’s life changed

घरमा बत्ती बलेपछि खुशी भएका कृष्ण(रातो टिसर्ट) र उनका छिमेकी

केही समयअघिसम्म स्याङ्जाको भीरकोट नगरपालिका–६ का कृष्ण बोटेको घरमा न बिजुली थियो, न सुत्नका लागि ओछ्यान । अपांगता र आर्थिक अभावसँग जुधिरहेका माझी (बोटे) समुदायका कृष्ण महिनौँदेखि अँध्यारो कोठाको भुइँमै रात बिताइरहेका थिए । घरमा आधारभूत सामग्रीसमेत थिएन, दैनिक गुजारा चलाउन पनि उनलाई निकै कठिन भइरहेको थियो ।

तर एउटा समाचारले उनको जीवनको दिशा बदलिदियो । स्याङ्जाका सञ्चारकर्मी हिमाल न्यौपानेले कृष्णको दयनीय अवस्थाबारे तयार पारेको समाचार नेपाल टेलिभिजनबाट प्रसारण भयो । यही समाचार हजारौँ किलोमिटर टाढा जापानमा रहेका भीरकोट–८ खोरबार निवासी प्रकाश खत्रीसम्म पुग्यो ।

समाचार हेरेपछि उनले आफ्नै गाउँका एक असहाय नागरिकको अवस्था देखेर चुप लागेर बस्न सकेनन् । तत्काल समाजसेवी बाबुराजा खत्रीमार्फत १६ हजार रुपैयाँ सहयोग पठाउने निर्णय गरे ।

त्यही सहयोगबाट कृष्णको घरमा सबैभन्दा पहिले काटिएको विद्युत् लाइन पुनः जडान गरियो । बक्यौता महसुल र नयाँ मिटर जडानबापत ३ हजार ५ सय ८ रुपैयाँ भुक्तानी गरियो । सोमबार साँझ नयाँ मिटर जडान भएसँगै महिनौँदेखि अन्धकारमा डुबेको घर उज्यालियो ।

कृष्णका लागि त्यो उज्यालो केवल बिजुली बलेको क्षण मात्र थिएन, नयाँ जीवनको सुरुवात थियो ।

सहयोग रकमबाट एक सेट पलङ, खाना पकाउने भाँडाकुँडा, बाल्टी, ओड्ने सिरक तथा अन्य आवश्यक घरायसी सामग्री पनि खरिद गरी उनको घरमै पुर्‍याइयो । भुइँमा सुत्न बाध्य कृष्ण अब पलङमा आरामसँग सुत्न पाउने भएका छन् भने दैनिक जीवनका आवश्यक सामग्रीको अभाव पनि धेरै हदसम्म हटेको छ ।

यो अभियानमा स्थानीय समाजका विभिन्न व्यक्ति र संस्थाले पनि साथ दिए । सहयोग समन्वयमा भीरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण), भाग्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ अर्याल तथा समाजसेवी बाबुराजा खत्री सक्रिय बने । उनीहरूले वालिङस्थित बुटवल पावर कम्पनी (बिपिसी)को कार्यालय पुगेर महसुल तिर्ने, नयाँ मिटर जडान गराउने तथा आवश्यक सामग्री खरिद गरी कृष्णको घरसम्म पुर्‍याउने काममा अग्रसरता लिए ।

लायन्स क्लबले एक बोरा चामल, दाल, तेल, मसला लगायतका खाद्यान्न सहयोग गर्‍यो । सफल फर्निचरले डसना, सिरानी र तन्नासहितको बिस्तारा उपलब्ध गरायो भने केसी भाँडा पसलले थाल, कचौरा र गिलास सहयोग गरेको छ ।

सामग्री घरसम्म पुर्‍याउनु पनि सहज थिएन । बयरघारीदेखि चिउरेनीसम्म करिब ६ किलोमिटर कच्ची सडक पार गरेर सामान ढुवानी गर्नुपरेको थियो । यो जिम्मेवारी भीरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले निःशुल्क रूपमा पूरा गरेका थिए ।

कृष्ण बोटेको घरमा पुगेको सहयोग रकमभन्दा ठूलो कुरा भने त्यसमा जोडिएको मानवीय भावना हो । एउटा समाचारले विदेशमा रहेका नेपालीको मन छोयो । एक जनाको पहलले धेरै सहयोगी हातहरू एक ठाउँमा जोडिए । परिणामस्वरूप महिनौँदेखि अन्धकारमा डुबेको एउटा घर उज्यालियो ।

यो घटनाले सञ्चारमाध्यमले उठाएका वास्तविक मुद्दाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश समेत दिएको छ । साथै, विदेशमा बसेर पनि जन्मभूमिका दुःखी र असहाय नागरिकप्रति अपनत्व राख्ने प्रवासी नेपालीहरूको भावना अझै जीवन्त रहेको उदाहरणका रूपमा यो अभियान स्थापित भएको छ ।

आज कृष्ण बोटेको घरमा बलेको बिजुलीको उज्यालो केवल एउटा बल्बको प्रकाश होइन, मानवता, सहकार्य र आशाको उज्यालो बनेर फैलिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ