स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

MP-Nishkal-Rai

नेपाली कांग्रेसका सचेतक निश्कल राईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएकाले यसको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राईले नवग्रह मन्दिरको संरक्षण र विकाससँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने बताए ।

‘स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ,’ उनले भने, ‘नेपालको पहिलो नवग्रह मन्दिरको संरक्षण, पूर्वाधार विकास, प्रवर्द्धन तथा धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र थप प्रचारप्रसार आवश्यक रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राईले मन्दिरको सम्भावनाअनुसार पूर्वाधार विकास र प्रचारप्रसार हुन नसकेको बताए । मन्दिरलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटकको आगमन बढ्नुका साथै स्थानीय व्यापार, रोजगारी र आयआर्जनमा समेत थप टेवा पुग्ने उनको भनाइ छ ।

मन्दिरको विकासका लागि आवश्यक बजेट छुट्याउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसले सांसद नरहेका जिल्लाको समन्वयका लागि राईलाई स्याङ्जाको जिम्मेवारी दिएको छ । सोही जिम्मेवारीअनुसार उनले स्याङ्जाको नवग्रह मन्दिरको विषय संसद्मा उठाएका हुन् ।

अर्जुनचौपारी गाउँपालिका–१ स्थित जलबराह धार्मिक वन परिसरमा रहेको पञ्चकन्या मन्दिर क्षेत्रको नवग्रह मन्दिर छोटो समयमै जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय आकर्षणका रूपमा विकास हुँदै गएको छ ।

मन्दिर निर्माणसँगै आसपासमा धार्मिक पर्यटकको आवागमन बढेको छ । पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यापार, होटल तथा यातायात व्यवसायमा समेत गतिविधि बढेको छ ।

नवग्रह मन्दिरको व्यवस्थित संरक्षण, पूर्वाधार विस्तार र प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रमा थप योगदान पुग्ने सांसद राईको जोड छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

भर्खरै

ट्रेन्डिङ