स्याङ्जा । शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मन्दिर महिलाका लागि पनि खुला गरिएको छ ।
कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन व्यक्ति नै खटाइएका हुन्थे । अहिले भने मन्दिर महिलाका लागि समेत खुला गरिएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ । मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो । तर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए । उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो ।
आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिला–पहिला एक जना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताए। “हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ”, उनले भने, “ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन् ।”
अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन् । यहाँ दशैँको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ । “आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ”, उनले भने ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताए । “पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ”, उनले भने, “गुठी संस्थानको रु ८४ हजार बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ ।” आलमदेवी मन्दिरमा तीन सय ६५ दिन नै पूजा हुने गरेको छ । यहाँ एकादशी, औँसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा