स्याङ्जाको वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले वर्षौंदेखि प्रयोगविहीन रहेको जमिनलाई उत्पादनसँग जोड्दै केराखेती सुरु गरेको छ । जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित यस विद्यालयले करिब १० रोपनी आफ्नै जग्गामा ‘जी नाइन’ जातको केरा रोपेको हो ।
विद्यालयले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, स्याङ्जा प्राविधिक शिक्षालयसँग सहकार्य गर्दै व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत यो खेती सुरु गरेको प्रधानाध्यापक दीपक लम्सालले जानकारी दिए । उनका अनुसार लामो समयदेखि बाँझो रहेको जमिन अब उत्पादनशील बनेको मात्र नभई विद्यार्थीका लागि सिकाइको माध्यमसमेत बनेको छ ।
“अब कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान पढ्ने विद्यार्थीले बारीमै गएर अभ्यास गर्न पाउने भएका छन्,” लम्सालले भने, “पढ्दै कमाउँदै कार्यक्रममार्फत यसलाई अगाडि बढाएका हौं ।”
केराखेतीका लागि कुल ५ लाख ६५ हजार ३ सय रुपैयाँ लागत लागेको छ, जसमा ७५ प्रतिशत रकम कार्यालयले र २५ प्रतिशत विद्यालयले व्यहोरेका छन् । विद्यालयका शिक्षक तथा विद्यार्थीले खेतीको रेखदेख र संरक्षणमा सक्रिय भूमिका खेल्ने जनाइएको छ ।
स्थानीय बजारमा केराको उच्च माग रहेकाले उत्पादन बिक्रीमा समस्या नआउने विश्वास विद्यालयले लिएको छ । साथै, उत्पादित केरालाई विद्यार्थीका लागि दिवा खाजामा प्रयोग गर्ने योजना पनि बनाइएको छ ।
चितवनबाट एक हजार बेर्ना ल्याएर रोपिएको उक्त खेतीका लागि माटो र हावापानी उपयुक्त देखिएकाले यो काम अघि बढाइएको कृषि विषयका शिक्षक गोविन्द गैह्रेले बताए । उनका अनुसार बारीमै आधारित सिकाइले विद्यार्थीको ज्ञान व्यवहारमा उतार्न सहयोग पुग्नेछ ।
विद्यालयसँग प्रशस्त जमिन रहेकाले आगामी दिनमा अन्य बाँझो जमिनसमेत उपयोग गर्ने योजना बनाइएको छ । यसअघि पनि यहाँ तरकारी, च्याउ तथा गड्यौले मल उत्पादनजस्ता गतिविधि सञ्चालन भइसकेका छन् भने अब कागती खेतीको तयारीसमेत भइरहेको छ ।
यसैबीच, केराखेतीको सुरुआतका क्रममा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाइन् ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते