सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

The big bell and trident pillar were unveiled in Sworek-kot

स्याङ्जाको भीरकोट नगरपालिका –५ स्थित स्वरेक कोट कालिका देवी मन्दिरमा चैते दशैँको अवसर पारेर नयाँ संरचना थपिएपछि यहाँको धार्मिक माहोल थप जीवन्त बनेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा ठूलो घण्टी र त्रिशुल स्तम्भ अनावरण गरिएसँगै मन्दिर परिसरमा नयाँ ऊर्जा महसुस गरिएको स्थानीय बताउँछन् ।

दाताहरूको सहयोगमा निर्माण गरिएको करिब १२६ किलो ७ सय ग्राम र ३० किलोका दुई घण्टीसहितको त्रिशुल स्तम्भ गण्डकी प्रदेश सांसद सरस्वती अर्याल तिवारीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा स्थानीयवासी, भक्तजन र मन्दिरसँग जोडिएका सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

मन्दिर व्यवस्थापन पक्षका अनुसार यी संरचना निर्माणमा झण्डै १२ लाख रुपैयाँ खर्च भएको छ । आर्थिक संकलनमा स्वदेश तथा विदेशमा रहेका स्वरेकबासीको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ ।

स्थानीय समाजसेवी एवं निवर्तमान नगर प्रमुख छायाराम खनालले सामूहिक सहयोगकै कारण मन्दिरको आध्यात्मिक वातावरण थप मजबुत बनेको बताए ।

ऐतिहासिक महत्व बोकेको कोट कालिका मन्दिर बाईसे–चौविसे राज्यभन्दा अघिदेखि स्थापना भएको मानिन्छ । यहाँ कालिका, भैरव, चण्डी लगायत देवी–देवताहरूको विशेष पूजा हुने गर्छ । विशेषगरी ठूलो दशैँ र चैते दशैँमा पञ्चबली दिने परम्परा अझै कायम छ ।

मन्दिरसँग जोडिएको किंवदन्ती पनि उत्तिकै रोचक छ । पेखु क्षेत्रबाट भैरव देवता उडेर कोटमा आई बसेको जनविश्वास छ । भैरव शिला जमिनमुनि करिब तीन मिटर गहिराइमा रहेको र वर्षेनी घुम्ने गरेको स्थानीय बताउँछन् । अझ आश्चर्यजनक कुरा, वर्षायाममा समेत उक्त स्थानमा पानी जम्मा हुँदैन ।

हाल मन्दिरमा भीरकोट–५ र वालिङ नगरपालिका –११ का स्थानीयले पूजा गर्दै आएका छन् भने पूजा गर्ने परम्परा विशेष समुदाय (सेन र खाँण ठकुरी) का कुमार छोराहरूबाट सञ्चालन हुँदै आएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मन्दिर परिसरबाट आसपासका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । तर, सडक पूर्वाधार कमजोर हुँदा आवतजावतमा केही कठिनाइ रहेको स्थानीयको गुनासो छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनका अनुसार सडक स्तरोन्नति भएमा दर्शनार्थीको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

भीरकोटको बयरघारी बजारबाट बगरेबजार हुँदै, वालिङ बजारबाट भञ्याङको बाटो भएर वा वालिङ–११ भोर्ले हुँदै गडिभञ्याङबाट पनि कोट कालिका मन्दिर पुग्न सकिन्छ ।

स्थानीय अगुवा तथा निवर्तमान वडा अध्यक्ष यामप्रसाद अधिकारीले नयाँ संरचनाले धार्मिक आस्था मात्र होइन, समुदायबीचको एकता पनि झल्काएको बताए । उनका अनुसार यस्ता गतिविधिले परम्परागत मूल्य संरक्षणसँगै नयाँ पुस्तालाई पनि जोड्ने काम गर्छ ।

वडा अध्यक्ष कृष्णबहादुर थापाका अनुसार यसले आगामी दिनमा मन्दिरलाई अझ आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास बढाएको छ ।

स्थानीयदेखि प्रदेश र विदेशमा रहेका दाताहरूको साथ, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचार र जनस्तरको उत्साहले यो मन्दिरले आधुनिक समयमै पनि आफ्नो पुरानो धार्मिक महत्त्व जोगाइराख्ने अपेक्षा बढाएको छ ।

समग्रमा, कोट कालिका मन्दिरमा भएको यो पहल धार्मिक, सांस्कृतिक र सामाजिक समन्वयको उदाहरणका रूपमा उभिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds