ल्वाङमा सिनेमा संवादः द्वन्द्व, कन्टेन्ट क्रिएसन, नयाँ पुस्तादेखि ग्लोबल मार्केटसम्मका कुरा

सिनेमाका कुरा

ल्वाङमा सिनेमा संवादः द्वन्द्व, कन्टेन्ट क्रिएसन, नयाँ पुस्तादेखि ग्लोबल मार्केटसम्मका कुरा

Globle-Market-in-Cinema-1st-Session-Photo
ग्लोबल मार्केटमा नेपाली सिनेमाबारे संवाद

नेपाली सिनेमाले विस्तारै बिश्व बजारमा प्रतिनिधित्व जनाउँदै जाँदा यसले राम्रो संकेत दिएको विषयमा चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवादअन्तर्गत विभिन्न सेसनमा घनीभूत छलफल भयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ८, ल्वाङमा शनिबार पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिशा हमाल र लेखक, निर्देशक एवं निर्माता सामिप्यराज तिमिल्सिनासँग सञ्चारकर्मी बिमला थापाले भलाकुसारी गरिन् ।

संवादका क्रममा नेपाली सिनेमाको बजार बिस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र यसको अब विकास र बिस्तार आवश्यक रहेकोबारे चर्चा भयो । सहजकर्ता थापाले नेपाली फिल्म ग्लोबलमा मार्केटमा कहिले छिर्छ भन्ने जिज्ञासामा चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, ‘ग्लोबल मार्केटमा हामीहरु छिरिसक्यौं, अब कति हल्ला मच्याउने भन्ने बाँकी छ ।’

मीन भाम निर्देशिक नेपाली फिल्म ‘शाम्बाला’ अघिल्लो वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो । कान्स फिल्म फेस्टिभलमा समेत नेपालले सहभागिता जनाइसकेको छ । जबकि ठूलो उद्योग मानिएको भारतले समेत नेपालजस्तो एचिभ गर्न नसकेको तिमिल्सिनाको भनाइ थियो । उनले बाँकी धेरै उद्योगको तुलनामा नेपाली फिल्म उद्योग ग्लोबल मार्केटमा पुगेको चर्चा गरे ।

उनका अनुसार ‘उनको स्वीटर’ले अष्ट्रेलिया, न्यूजिल्याण्ड, युएईको मार्केटबाट मात्रै ६ करोडको ब्यापार गरेको छ । ‘जेरी एण्ड टप’ले अष्ट्रेलियाबाट साढे ३ करोडको व्यापार गरेको छ । यी दुई फिल्मले भारतीयको मार्केटमा पनि ३ करोडको जति बिजनेस गरिसकेका छन् ।

अभिनेत्री बेनिशा हमालले फिल्म करियरको सुरुआति समयमा विदेश घुम्दा बल्र्ड सिनेमा कस्तो हुँदोरहेछ भन्ने बुझ्ने मौका मिलेको स्मरण गरिन् । करिब १० वर्षअघि ‘कालोपोथी’ फिल्मको हिस्सा भएका कारण टोकियो र सिंगापुरमा भएका फिल्म फेस्टिभलमा जाँदा आफू एक्सपोजर हुने मौका मिलेको पनि बताइन् । उनले भनिन्, ‘विगतमा धेरै कुरा थाहा थिइन । बल्र्ड सिनेमा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । त्यहाँ नजिकबाट धेरै सिनेमा हेर्न पाइयो ।’

एक अर्को प्रसंगमा नेपाली फिल्मको कथा बलियो छ भने पैसा नहुँदैमा खुम्चिनुपर्ने अवस्था नभएको वक्ताहरुले बताए । तिमिल्सिनाले भने, ‘कथा राम्रो भयो भने अहिले पैसा छैन भनेर खुम्चिएर बस्नुपर्ने छैन । पैसा हाल्नका लागि दुनियाँ तयार छ ।’ पोखराको लामाचौरमा सुटिङ भएको उनको ‘एकमुठ्ठी बादल’ को कलरको काम थाइल्याण्डमा भइरहेको छ । साउण्डको काम भारतमा भएको जनाए ।

ग्लोबल मार्केटका लागि कुनै फेस्टिभलमा फिल्म छानियो भने त्यो फिल्म किन्न विदेशका वितरक इच्छुक हुन्छन् । ओटिटी राइट पनि किन्ने गरेको उनले सुनाए ।

संवादका क्रममा नेपाली फिल्म ज्यादै प्रयोग भएको समय अहिले भएको बताइयो । तिमिल्सिनाले भने, ‘नेपाली फिल्म ज्यादै एक्सपेरिमेन्ट भएको समय नै अहिले हो । रोनाधोना मात्रखालका फिल्म छैनन् ।’ उनका अनुसार गत वर्ष पाँच दर्जन जति फिल्म रिलिज भए । निकै रोचकखालका फिल्म पनि बने । तर तिनीहरुमध्ये केहीले बक्स अफिसमा त्यो लेभलमा प्रुफ गर्न सकेनन् ।

अभिनेत्री बेनिशाले पनि हामीसँग कथाको कमी नभएको उल्लेख गरिन् । नेटफिक्ल्स, ओटिटीमा समेत नेपाली फिल्म लैजान सरोकारवाला निकायले पनि अझ पहल गर्नुपर्नेमा संवादमा विषय उठान भएको थियो ।

नयाँ पुस्तालाई सिर्जनात्मक र फरक विषय दिनुपर्छ

पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा ल्वाङमा भएको ‘सिनेमा संवाद’का क्रममा नेपाली सिनेमा क्षेत्रमा पुराना पुस्ताले नयाँ पुस्तालाई सिर्जनात्मक र फरक विषय दिन सक्नुपर्ने चर्चा गरिएको छ ।

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ बारे उक्त सेसनमा अभिनेत्रीद्वय आँचल शर्मा र सनिषा भट्टराई, नायक सलोन बस्नेतसँग सञ्चारकर्मी उत्सव रसाइली संवादमा थिए ।

अभिनेत्री शर्माले आफूहरुले अबका पुस्तालाई सिर्जनात्मक र फरक विषय छाडेर जानुपर्ने बताइन् । ‘हामी अहिले नयाँ पुस्ता छौ, पछि हामी पनि पुराना पुस्ता भनेर गनिन्छौैं । त्यसैले अब आउने जेनेरेसनका लागि रचनात्मक र फरकखालको फिल्म आउनुपर्छ ।’

उनले भनिन्, ‘पहिले स्टेरियोटाइप स्टोरी थियो जस्तो लाग्छ । त्यसलाई हामीले ब्रेक गरिरहेका छौं । यसरी ब्रेक गर्दै अर्को पुस्तासम्म जाँदासम्म अझै ब्रेक हुनुपर्छ जस्तो लाग्छ ।’ चलचित्रमा एउटा धार चलेपछि त्यसलाई नै पछ्याउने विषय नयाँ पुस्ताले तोड्दै जानेमा उनी विश्वस्त छिन् ।

बस्नेत पनि आफू स्टेरियोटाइप स्टोरी ब्रेक गर्न ‘यूनिभर्सिटी अफ गुन्डाज’ चलचित्रले ल्याउन प्रयास गरिरहेको बताउँछन् । ‘नेपाली चलचित्रमा भइरहेको यो चेन ब्रेक गर्नका लागि अन्त कतैबाट भएन भने आफैँबाट गर्नुपर्छ भनेर मैले त्यही गरिरहेको छु,’ उनले भने ।

भट्टराईले महिला सशक्तीकरणमा आधारित चलचित्र बन्नुपर्नेमा जोड दिइन् । ‘यहाँ फिमेल लिड भएको चलचित्र चल्दैन भन्ने गरिन्छ तर राम्रो स्टोरी जेन्डरमा फस्दैन्,’ उनले भनिन्, ‘महिलाहरुलाई पनि चान्स दिनुपर्छ । अबको नयाँ पुस्तालाई अझ राम्रो चलचित्र दिनुपर्छ । जसले गर्दा पछिल्लो पुस्तालाई पाठ बनोस् ।

आफूहरु पनि पुराना पुस्ताको राम्रो कामको अनुशरण गर्दैै अघि बढेकाले अबको नयाँ पुस्ताले पनि आउने पुस्तालाई सोही पाठ सिकाउनुपर्ने वक्ताको भनाइ थियो ।

अभिनेत्री शर्माले पुराना पुस्ताको राम्रो कामको पदचाप पछ्याउँदै हिडेको बताउँछिन् ।

बस्नेतले एनालगको जमानादेखि डिजिटल युगसम्म धेरै परिवर्तन देखेको बताए । चलचित्र परिवारमा हुर्किएकाले वरपरका संसार बदलिएसँगै आफू बदलिन सहज भएको उनको भनाइ थियो । अहिले आफू नयाँ पुस्ता बनेर चलचित्र निर्माणमा होमिदा धेरै विषयसँग जुध्नुपरेको उनी सुनाउँछन् ।

सिनेमामा द्वन्द्व कति आवश्यक ?

पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ मा अभिनेता निखिल उप्रेतीले खिरमा ल्वाङ हाल्ने कि नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिका पस्किए ।उनल े भने, ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खानलायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ ।’

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले बर्सेनि आयोजना गर्दै आएको सिनेमा संवादको चौथो संस्करण ल्वाङमा लगेको थियो । विभिन्न चार सेसनमा चलचित्रका हरेक कोणको घनीभूत छलफल भएको उक्त कार्यक्रमको तेस्रो सेसनमा थिए–एकताका निकै चम्किएका स्टन्डनायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित । सञ्चारकर्मी सन्जोक बस्यालले सहजीकरण गरेको सो सेसनमा ‘सिनेमामा द्वन्द्व: दर्शकको माग कि उद्योगको दबाब ?’ विषयमा गफिदै अभिनेता उप्रेतीले सिनेमामा द्वन्द्व राख्दा त्यसको आवश्यकताबारे प्रस्ट पार्नुपर्ने जोड दिए । उनले अगाडि भने, ‘चलचित्रमा द्वन्द्वलाई राम्रो तरिकाले व्यक्त गरिएको हुँदैन । द्वन्द्व व्यक्त गरे पनि द्वन्द्व हुनुको घटनालाई गरिएको हुँदैन ।’

लेखक तथा निर्देशक पण्डित चाहिँ फिल्ममा पात्रले जुन कुरा गर्छ, उसमा आउने असहज परिस्थिति द्वन्द्व हो भनी परिभाषित गर्छन् । उनले महाभारतको कथालाई उदाहरण दिँदै भने, ‘महाभारतको सबैभन्दा बढी सम्झना हामीलाई आउने भनेको जब अर्जुनले भगवान् कृष्णलाई रथ रोक्न खोज्नु हो, त्यो सबैभन्दा ठूलो द्वन्द्व थियो । म लडौ कि नलाडौ भन्ने द्वन्द्व थियो ।’ अब नेपाली फिल्ममा ‘द्वन्द्व’ भनी लेख्नु नहुने उनको जोड छ । उनले भारतीय फिल्मको पनि उदाहरण दिँदै त्यहाँ द्वन्द्व नभनी थ्रिल, एक्सन लेख्ने चलन भएको जानकारी दिए ।

यसैबीच, अभिनेता उप्रेतीले तत्कालीन समयमा नेपाली फिल्म उद्योगले आफूलाई ‘बिकाउ’को रुपमा प्रयोग गरेको जनाए । निकै आध्यात्मिक सुनिने उप्रेतीले संवादका क्रममा कतिपय विषय निकै दार्शनिक ढंगले पस्के । उनले भने, ‘द्वन्द्वसँग हामी सबैजना बहुत प्रभावित छौं । बाटोमा दुईजना मानिस झगडा भएको देख्यौ भने सारा चिज बिर्सेर हेरेर बस्छौं । द्वन्द्वसँग हाम्रो गहिरो सम्बन्ध छ । मानसिक अवस्थासँग छ । यो हाम्रो कमजोरीसँग छ । जति मानिस आफ्नो दबिएको भावना हुन्छ, त्यति द्वन्द्व अर्को व्यक्तिमा हेर्न चाहन्छ ।’

उनले अगाडि भने, ‘विश्वभरिको चलचित्र उद्योगमा सबैभन्दा धेरै द्वन्द्वकै फिल्म बन्छ । लिडिङ फिल्म इन्डष्ट्रिजले द्वन्द्वको फिल्म नै बनाउँछ । हलिउडले ६० प्रतिशत त एक्सन मुभी नै बनाउँछ । त्यसभित्र धेरै कारण छ ।’
उनले विश्वमा कुनै न कुनै पार्टमा द्वन्द्व रहेको उल्लेख गरे । पृथ्वी कहिल्यै पनि द्वन्द्वबाट अलग हुन नसक्ने ठोकुवा पनि गरे । उनले, ‘द्वन्द्व यदि जस्टिफाइ छैन भने त्यो झगडामा परिणत हुन्छ । द्वन्द्वको स्पष्टता हुनुपर्छ ।’

उनले भने, ‘समाजमा सबै व्यक्ति सम्झाएर सम्झिन सक्दैनन् । यदि सम्झिने भए युद्धको अवस्था नै आउने थिएन । कोही व्यक्ति सुतेको ठाउँमा उभिदियो भने मात्र उठिहाल्छ, तर जति झक्झक्याँदा पनि उठ्दैन । त्यसबेला द्वन्द्व जरुरी हुन्छ ।’
उनले द्वन्द्व भएको फिल्म बनाउन पनि साहस चाहिने बताए । उनले जहाँ घाउ छ, त्यहाँको दुःखको व्यापार हुन्छ भने । ‘पर्दामा देखाइएको एक किमिसको घाउ हो, यहाँ घाउको व्यापार हुन्छ,’ उनले भने, घाउ सदा बिक्छ । आँसुजति झुठ कुनै हुँदैन । प्रेममा पनि खस्छ, दुःखमा पनि खस्छ ।’

यसैबीच, नेपाली बजारबाट विदेशी चलचित्रले करोडौं लिएर गएकोमा उनले दुःख व्यक्त पनि गरे । भने, ‘एउटा विदेशी चलचित्रले देशमा २५ देखि ३० करोडको हाराहारीमा ब्यापार गरेर लैजान्छ, तर नेपाली दाजुभाइ त्यति कमाउन विदेशमा कति दुःख गर्नुपर्छ ।’

लेखक तथा निर्देशक पण्डितले सोही विषयमा असहमति जनाउँदै नेपाली फिल्म राम्रो नबन्दा विदेशी फिल्म हावी भएको तर्क गरे । उनले भने, ‘हामीले नेपाली दर्शकलाई इन्टरटेन दिनेखालका फिल्म बनाउन सकेका छैनौं । अनि द्वन्द्व चाहिँ हामीभित्र चलिरहेको हुन्छ । १० प्रतिशतले फिल्मले दर्शकलाई रुवाए, ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाए ।’

उनले कुनै पनि राम्रो सिनेमाले दर्शकलाई अनुभूति भने गराउने बताए । उनले भने, ‘फिल्म एक्सपिरियन्स हो । राम्रो फिल्मले ज्ञान दिन्छ । र, मानिस इन्टरटेन नभइकन ज्ञान लिँदै लिँदैन ।’

नेपाली सिनेमा र कन्टेन्ट क्रिएसनबीचको बहस

‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर गहन छलफल गरिएको छ ।

छलफलमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारीसँग चलचित्र पत्रकार सन्ध्या थापाले भलाकुसारी गरिन् ।

छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गरिन् । उनले भनिन्, ‘मुभी पनि आफैँमा एउटा कन्टेन्ट नै हो, यो अलि लामो हुन्छ भने अहिले हामीले सोसल मिडियामा देख्ने रिल्सहरू छोटा हुन्छन् । कन्टेन्ट क्रिएसनले गाउँका प्रतिभा र पर्यटनलाई विकास गर्न ठूलो अवसर दिएको छ ।’ उनले अगाडि भनिन्, ‘कि संघर्ष गरिरहेका थिएटर कलाकारहरूलाई यो क्षेत्रले स्वतन्त्र र आत्मविश्वासी बनाउन मद्दत गरेको छ ।’

महेश भण्डारीले कन्टेन्ट क्रिएसन सामाजिक सञ्जाल आउनुभन्दा पहिलेदेखि नै समाजमा अस्तित्वमा रहेको बताए । ‘जुन कुरा बिक्न सक्छ, सेयर हुन सक्छ र जसमा मनोरञ्जन वा सन्देश हुन्छ, त्यो नै कन्टेन्ट हो,’ भण्डारीले भने । उनले कन्टेन्ट क्रियटर आफैँमा लगानीकर्ता, लेखक र निर्देशक समेत हुने हुँदा यसको जिम्मेवारी ठूलो हुने उल्लेख गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाह वा राजनीतिज्ञ केपी शर्मा ओलीका कतिपय भिडियो जनतासँग जोडिने भएकाले नै भाइरल हुने गरेको उदाहरण दिए ।

पछिल्लो समय कन्टेन्ट क्रियटरलाई सिनेमामा लिने लहर चलिरहेको सन्दर्भमा इस्टुले आफू पैसाका लागि मात्र फिल्म नगर्ने स्पष्ट पारिन् । उनले भनिन्, ‘मेरो लागि मुभी एउटा सपना र प्यासन हो । म फिल्ममा यस्तो पात्र निभाउन चाहन्छु, जसले समाजमा केही परिवर्तन ल्याउन सकोस् र मेरो अभिनय यात्रामा प्रभाव छोडोस् ।’ उनले सामाजिक सञ्जालमा सफल हुन नियमित पोष्ट गर्नुभन्दा पनि गुणस्तरीय सामग्री हुनुपर्नेमा जोड दिइन् ।

भण्डारीले चाहिँ कलाकारितामा प्यासनसँगै पैसा पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने बताए । उनले भने, ‘प्यासनले मात्र फिल्म वा कन्टेन्ट बनाउने हो भने धेरै कलाकार विदेशिनुपर्ने वा क्षेत्र नै छोड्नुपर्ने अवस्था आउन सक्छ । प्यासनसँगै पैसाको हिसाब–किताब पनि एउटा कारण हुनुपर्छ, तब मात्र उद्योग अगाडि बढ्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ