स्याङ्जाको पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरिएको घटनाले नगरपालिका तरंगित बनेको छ । नगरपालिकाका अनुसार वडा नं. ३ का बाबुराम शर्माले कार्यालयमै पुगेर जिरेलमाथि हातपात तथा अभद्र व्यवहार गरेका हुन् ।
नगरपालिकाका अनुसार प्रदेश र संघीय सरकारमा योजना माग्ने तयारीका क्रममा इस्टिमेट बनाउन आग्रह गर्दै आएका शर्माले सोही विषयलाई लिएर विवाद सिर्जना गरेका थिए । विवाद चर्किएपछि उनले कार्यकक्षमै प्रवेश गरेर जिरेलमाथि कुटपिट गरेको बताइएको छ ।
घटनापछि नगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले शर्मालाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पुतलीबजार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नियमित कार्यालयको काममा खटिएका कर्मचारीमाथि कार्यकक्षमै प्रवेश गरी गरिएको कुटपिट र अभद्र व्यवहार निन्दनीय भएको उल्लेख गरिएको छ ।
नगरपालिकाले कर्मचारीको कार्यविवरणभन्दा बाहिरको विषयलाई लिएर घटना भएको दाबी गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयभित्रै राष्ट्रसेवक कर्मचारीमाथि गरिएको हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउने मात्र नभई कार्यालयको सुरक्षित, मर्यादित र शान्त वातावरणमा समेत प्रत्यक्ष असर पर्ने नगरपालिकाको भनाइ छ । साथै घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाही गर्न समेत माग गरिएको छ ।
सम्बन्धित खबर
ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर