स्याङ्जाको वालिङ नगरपालिका–९ र १० का कृषकले सिँचाइको आशामा बनाइएको पानी सङ्कलन ट्याङ्की वर्षौंदेखि प्रयोगमा नआएपछि गुनासो गरेका छन् । खेतीयोग्य जमिनमा पानी पुर्याउने उद्देश्यले निर्माण गरिएको ट्याङ्की १४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
झण्डै पाँच हजार रोपनी जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित वि.सं. २०६९ सालमा आठ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको थियो । वालिङ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वालिङ–१० मदिखोलाको माथिल्लो भागबाट वालिङ बजारमा खानेपानी वितरण गरेबापत कृषकसँग भएको सहमतिअनुसार ट्याङ्की निर्माण गरेको जनाएको छ ।
तत्कालीन वालिङ साना सहरी खानेपानीका अध्यक्ष तथा पूर्वनगरप्रमुख भोजराज अर्यालका अनुसार बजार क्षेत्रमा पानी लैजाने विषयमा स्थानीय कृषकले अवरोध गरेपछि सिँचाइका लागि छुट्टै पानी सङ्कलन गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार ट्याङ्की निर्माण गरिएको उनले बताए ।
खानेपानी विभागसँगको सहकार्यमा करिब ५६ लाख रुपैयाँ खर्च गरेर संरचना बनाइएको संस्थाका प्रमुख देव बोगटीले जानकारी दिए । तर निर्माण सम्पन्न भएको लामो समय बित्दा पनि कृषकले अपेक्षित लाभ लिन पाएका छैनन् ।
स्थानीय कृषक तथा सामाजिक अगुवा राजेन्द्रप्रसाद गैह्रेले कृषकको लामो संघर्षपछि निर्माण भएको ट्याङ्की बेवारिसे जस्तै बनेको बताए । “कृषकका लागि बनाइएको योजना वर्षौंदेखि अलपत्र छ,” उनले भने, “पटक–पटक आग्रह गर्दा पनि मर्मत र पुनः सञ्चालनमा कसैले ध्यान दिएको छैन ।”
२०८१ सालमा सामान्य रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिए पनि असार महिनाको बाढीले पानी ल्याउने पाइपसहित आसपासका संरचनामा क्षति पुर्याएको कृषक सूर्यप्रसाद पौडेलले बताए । उनका अनुसार त्यसयता पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ।
संस्थाका प्रमुख बोगटीले बाढीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिँदै मर्मत तथा पुनर्निर्माणको पहल भइरहेको बताए । कृषकलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउने गरी ट्याङ्की पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
सम्बन्धित खबर
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
हिंसापीडित महिलाको सहारा बन्दै स्याङ्जाको अल्पकालीन सेवा केन्द्र
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
यो पनि पढौँ
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी