स्याङ्जाको चापाकोट नगरपालिका–८ का एक अपांग युवकलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको टोलीले घरमै पुगेर अंगीकृत नेपाली नागरिकता प्रदान गरेको छ ।
चापाकोट–८ निवासी तारा कँडेलका १८ वर्षीय छोरा घनश्याम कँडेल शारीरिक रूपमा अपांग रहेकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असमर्थ थिए । उनका पिता भारतीय नागरिक र आमा नेपाली नागरिक हुन् । घनश्याम नेपालमै जन्मिएका, निरन्तर नेपालमै बसोबास गर्दै आएका तथा बाबुको मुलुकबाट कुनै पनि प्रकारको नागरिकता प्राप्त नगरेका कारण प्रचलित कानुनी व्यवस्थाअनुसार उनलाई मंगलबार अंगीकृत नेपाली नागरिकता प्रदान गरिएको हो ।
नागरिकता वितरणका लागि प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंसहित जिल्ला प्रशासन कार्यालयको टोली घनश्यामको निवासमै पुगेर नागरिकता हस्तान्तरण गरेको प्रशासनले जनाएको छ । सेवाग्राहीको अवस्थालाई मध्यनजर गर्दै नागरिकता जस्तो आधारभूत सेवा घरदैलोमै पुर्याइएको प्रशासनको भनाइ छ ।
पछिल्ला वर्षहरूमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अशक्त, अपांग तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई लक्षित गर्दै घरदैलोमै नागरिकता सेवा प्रदान गर्ने अभियानलाई प्राथमिकता दिँदै आएको छ । यसअघि पनि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर विशेष अवस्थाका नागरिकलाई घरमै नागरिकता वितरण गरिएको थियो ।
यस्तो अभ्यासले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मद्दत पुगेको बताउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले कानुनले व्यवस्था गरेको अधिकारबाट कुनै पनि योग्य नागरिक वञ्चित हुन नदिन प्रशासन प्रतिबद्ध रहेको बताए ।
“नेपाली आमा र विदेशी बाबुबाट जन्मिएका, नेपालमै स्थायी रूपमा बसोबास गरेका तथा बाबुको देशको नागरिकता नलिएका व्यक्तिले कानुनबमोजिम नागरिकता पाउने व्यवस्था छ । अपांगता, अशक्तता वा अन्य कारणले कार्यालयसम्म आउन नसक्ने नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी घरमै पुगेर सेवा दिने कामलाई निरन्तरता दिएका छौं । राज्यको सेवा नागरिकको पहुँचमा पुर्याउनु हाम्रो दायित्व हो,” चापागाईंले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले राज्यका आधारभूत सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न प्रशासनले विशेष पहल गरिरहेको बताए । उनले नागरिकमैत्री प्रशासनको अवधारणाअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाइएको बताए ।
“नागरिकता व्यक्तिको आधारभूत एवं कानुनी पहिचानसँग जोडिएको विषय हो । शारीरिक अवस्था वा अन्य कारणले कोही पनि नागरिक आफ्नो अधिकारबाट वञ्चित हुनु हुँदैन । त्यसैले आवश्यक परे प्रशासन आफैं नागरिकको घरदैलोमा पुगेर सेवा दिन्छ,” सहायक प्रजिअ सुवेदीले भने ।
स्थानीयवासीले सकारात्मक प्रतिक्रिया जनाउँदै प्रशासनले देखाएको संवेदनशीलताले सेवाग्राहीलाई ठूलो राहत पुगेको बताएका छन् । यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्नुपर्ने उनीहरुले बताएका छन् ।
सम्बन्धित खबर
घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता
पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट