स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित देशकै पहिलो नवग्रह मन्दिरमा विशेष क्षमा पूजा तथा दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प सुरु भएको छ । तीन दिनसम्म चल्ने महाअनुष्ठान सोमबार सम्पन्न हुनेछ ।
भोटेकोशी बाढीमा परी प्रभावित नागरिकको शान्तिको कामना, क्षमा पूजा तथा मानव जीवनमा देखिने विभिन्न ग्रहदोष शान्तिका लागि महाअनुष्ठान आयोजना गरिएको हो । ‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावका साथ सुरु गरिएको अनुष्ठानमा सर्वसिद्धिको कामनासमेत गरिने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
उनका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेख भएको महासाम्राज्य विधानअनुसार गरिने विशेष अनुष्ठान हो । हजारौँ वर्षअघि महर्षिहरूले गोप्य राखेको दुर्लभ विधिअनुसार कलियुगका लागि निर्धारित शास्त्रोक्त प्रक्रिया पूरा गरिने उनले बताए ।
महाअनुष्ठानअन्तर्गत पाँच लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजप गरिनेछ । वैदिक विद्वान् ब्राह्मणहरूले सूर्यका लागि ७ हजार, चन्द्रका लागि ११ हजार, मंगलका लागि १० हजार, बुधका लागि ९ हजार, गुरुका लागि १९ हजार, शुक्रका लागि १६ हजार, शनिका लागि २३ हजार, राहुका लागि १८ हजार र केतुका लागि १७ हजार मन्त्र जप गर्नेछन् । त्यसपछि जप संख्याको चार गुणा कलि–विधान पूरा गरिनेछ ।
मन्त्रजपपछि नौवटै ग्रहका लागि शास्त्रमा तोकिएका वनस्पति तथा समिधाबाट हवन गरिनेछ । सूर्यका लागि आँक, चन्द्रका लागि पलाश, मंगलका लागि खदिर र शनिका लागि शमी प्रयोग गरिने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।
हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा विशेष जडीबुटीयुक्त नवधान्य र अन्य द्रव्यको आहुति दिइनेछ ।
नवग्रहसँगै तिनका शासक अधिदेवता र प्रत्यधिदेवताका लागि पनि विशेष तर्पण तथा आहुति दिइने आयोजकले जनाएको छ । सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुलगायत देवताका नाममा छुट्टै विधि पूरा गरिनेछ ।
मध्यरातमा अघोर पूजा
महाअनुष्ठानको अर्को विशेष पक्ष २८ भदौको मध्यराति १२ बजे गरिने अघोर पूजा हो । तान्त्रिक विधिअनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्विक बलि दिने कार्यक्रम छ ।
मन्त्रको अखण्ड गुञ्जनबीच मध्यरातमा गरिने उक्त विधिलाई अनुष्ठानको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ । आयोजकका अनुसार यस विधिमार्फत यजमान तथा दर्शनार्थीमाथि रहेको भनिएका ग्रहदोष, अदृश्य बाधा र संकट निवारणको कामना गरिनेछ ।
तीन दिनसम्म सञ्चालन हुने महाअनुष्ठानमा करिब ५० हजार भक्तजनले मन्दिरमा पूजा तथा आराधना गर्ने अनुमान गरिएको छ ।
हरेक वर्ष गणेश चतुर्थीको अवसरमा विशेष पूजा हुँदै आएको नवग्रह धाममा मन्दिर निर्माणपछि पहिलोपटक यस प्रकारको महाअनुष्ठान आयोजना गरिएको हो । नवभूज आकारमा आकाशतर्फ फर्काइएको २७ फिट अग्लो नवग्रह मन्दिरमा सौर्यमण्डल तथा ब्रह्माण्डको प्रतिमासमेत राखिएको छ । महाअनुष्ठानमा सहभागी हुने भक्तजनले उक्त प्रतिमाको प्रत्यक्ष दर्शनसमेत गर्न सक्नेछन् ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने