स्याङ्जाको चापाकोटमा ११ वर्षदेखि रोकिएको कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिता फेरि आयोजना हुने भएको छ ।
आठौँ संस्करणको प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । आयोजक द राइजिङ ग्रुप चापाकोटका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १३ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । ‘माटो चापाकोटको, जोश फुटबलको, पहिचान हाम्रो, गौरव सबैको’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवाको प्रतिभा पहिचान र फुटबल प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न संघसंस्था जुटेको बताए । उनका अनुसार प्रतियोगिता युवाको शारीरिक तन्दुरुस्ती र खेल क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
‘११ वर्षदेखि रोकिएको प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको साथ जुटिरहेको छ,’ घर्तीले भने ।
प्रतियोगितामा स्याङ्जा र कास्कीका दुई–दुई तथा गोरखा, पर्वत, पाल्पा र रुपन्देहीका एक–एक गरी आठ टोली सहभागी हुने खेल संयोजक धिराज खाँणले जानकारी दिए ।
प्रतियोगितामा द राइजिङ ग्रुप चापाकोट, होराइजन क्लब वालिङ, बौद्ध शान्ति क्लब पोखरा, मर्दीखोला युनाइटेड क्लब पर्वत, ज्योतिपुञ्ज क्लब रामपुर, भदौरे क्लब कास्की, गोरखा फुटबल क्लब गोरखा र योङ ब्वाइज देवदह रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकले प्रतियोगिताबाट करिब ३२ देखि ३३ लाख रुपैयाँ आम्दानी हुने र सञ्चालनमा २३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
खर्च कटाएर बचत हुने करिब १० लाख रुपैयाँ खेलमैदान निर्माण, फुटबल प्रशिक्षण तथा सामाजिक क्षेत्रमा खर्च गर्ने योजना रहेको अध्यक्ष घर्तीले बताए ।
ग्रुपका सचिव गोपीकृष्ण रेग्मीले प्रतियोगिता चापाकोटको प्रतिष्ठासँग जोडिएकाले अनुशासित, मर्यादित र सभ्य रूपमा सञ्चालन गरिने बताए ।
सम्बन्धित खबर
स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
लागूऔषध मुद्दामा छुटेका युवक फेरि लागूऔषधसहित पक्राउ
कालीगण्डकी ड्याममा पुरुषको शव फेला
असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई ७ हजार ५०० रुपैयाँ जरिवाना
स्याङ्जामा गुडिरहेको स्कुटरमा आगलागी
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते