स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै कृषि उत्पादनमा पनि जुट्न थालेका छन् ।
विद्यालयमा सञ्चालन भइरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उनीहरूले तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
विद्यालयको प्रि–डिप्लोमा तहअन्तर्गत जे.टी.ए. बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका छन् । बेर्ना रोप्नयोग्य भइसकेकाले आवश्यक पर्ने कृषक तथा सर्वसाधारणलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारमा कृषि सीप सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । बेर्ना बिक्रीबाट प्राप्त आम्दानी विद्यार्थीको शैक्षिक भ्रमणलगायत गतिविधिमा खर्च गरिँदै आएको छ । यसले विद्यार्थीलाई उत्पादन, श्रम र आम्दानी व्यवस्थापनबारे विद्यालयमै सिक्ने अवसर दिएको छ ।
विद्यालयमा २०७५ सालदेखि प्रि–डिप्लोमा तहको बाली विज्ञान विषयको नियमित पठनपाठन हुँदै आएको छ । चालु शैक्षिक सत्रमा यस समूहमा २१ जना विद्यार्थी भर्ना भएका छन् । उनीहरूलाई नियमित कक्षासँगै प्रयोगात्मक र परियोजनामूलक अभ्यासमा सहभागी गराइँदै आएको छ ।
पाठ्यक्रमअनुसार विद्यार्थीले आलंकारिक नर्सरी निर्माण, तरकारी उत्पादन, बन्दा तथा काउली खेती र मौसमअनुसार च्याउ खेतीको अभ्यास गर्दै आएका छन् । विद्यालयमा रहेका पाँचवटा टनेलमा यसअघि टमाटर, काँक्रो तथा लहरे बालीका बेर्ना उत्पादन गरी स्थानीय बजारमा बिक्रीसमेत गरिँदै आएको थियो ।
यसपटक बाली विज्ञान समूहलाई इको हिमाल संस्थाले बीउ र प्राविधिक सहयोग उपलब्ध गराएको छ । सोही सहयोगमा उत्पादन गरिएका बन्दा, काउली र ब्रोकाउलीका बेर्ना अहिले बिक्रीका लागि तयार भएका हुन् ।
विद्यार्थीले सुरुमा नर्सरीमा बीउ उमार्छन् । त्यसपछि बेर्नालाई छुट्टै ब्याडमा सारेर हुर्काउँछन् । बिरुवा रोप्नयोग्य भएपछि बिक्री गरिन्छ । उत्पादनदेखि बजारीकरणसम्म विद्यार्थी आफैँ संलग्न हुने भएकाले उनीहरूले कृषि व्यवसायको व्यावहारिक ज्ञानसमेत हासिल गरिरहेका छन् ।
विद्यालयले आगामी दिनमा कक्षा ८ र ९ सहित अन्य कक्षाका विद्यार्थीलाई पनि टनेलमा छुट्टाछुट्टै प्लट उपलब्ध गराउने योजना बनाएको छ । विद्यार्थीले आफ्नो जिम्मामा रहेको प्लटमा तरकारी तथा बेर्ना उत्पादन, व्यवस्थापन र बिक्री गर्नेछन् । त्यसबाट प्राप्त आम्दानी सम्बन्धित कक्षाको व्यवस्थापन तथा शैक्षिक गतिविधिमा खर्च गर्ने योजना रहेको प्रधानाध्यापक दिप्तीनारायण शर्माले बताए ।
उनका अनुसार विगतको तुलनामा विद्यार्थी कृषि उत्पादनका काममा थप सक्रिय भएका छन् । अहिले कक्षा ९ का विद्यार्थीलाई यस कार्यक्रममा बढी सक्रिय बनाइएको छ । विद्यालय परिसरमा फूलबारी व्यवस्थापन गर्ने काममा भने सबै कक्षाका विद्यार्थी सहभागी हुने गरेको शिक्षक थानेश्वर पौडेलले बताए ।
विद्यालयले स्थानीय विषयअन्तर्गत हरेक शुक्रबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई व्यवहारकुशल सीप तथा जीवनोपयोगी शिक्षासँग जोडेर कृषि अभ्याससमेत गराउँदै आएको छ । तरकारीमा लाग्ने रोग तथा कीराको पहिचान र नियन्त्रणका उपायबारे छुट्टै पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन भइरहेको शिक्षक पुर्खराज पौडेलले जानकारी दिए ।
विद्यार्थीलाई कम्तीमा पाँचवटा तरकारीका बेर्ना उत्पादन गर्न प्रोत्साहित गरिएको छ । यसका साथै ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रमलाई पनि प्राथमिकता दिइएको विद्यालयले जनाएको छ ।
बाली विज्ञान विषयको पठनपाठन र परियोजना सञ्चालनका लागि आँधीखोला गाउँपालिका तथा वडा नम्बर ५ को कार्यालयले पनि समयसमयमा सहयोग गर्दै आएका छन् । गाउँपालिकाको मातहतमा रहेको इको हिमाल संस्थाले बीउ उपलब्ध गराउनुका साथै अनुगमन, निरीक्षण र प्राविधिक पृष्ठपोषण प्रदान गर्दै आएको छ । त्यसैगरी आक्स नेपालले गड्यौला मल निर्माण तथा कृषि कार्यका लागि आवश्यक सामान्य औजार उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले विद्यालयमा पढाइसँगै कृषि अभ्यास गराउने कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक सीप सिकाउनुका साथै स्थानीय स्तरमै कृषि उद्यमप्रति आकर्षित गर्न सहयोग पुग्ने बताए । उनका अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा विद्यार्थीले सानै उमेरदेखि श्रमको सम्मान, उत्पादन र आत्मनिर्भरताको महत्त्व बुझ्ने अवसर पाउँछन् ।
विद्यालयको यो अभ्यासले विद्यार्थीलाई कृषि उत्पादनमा मात्रै सीमित राखेको छैन । यसले उनीहरूलाई श्रमको महत्त्व बुझ्ने, उद्यमशील बन्ने र आफूले गरेको कामबाट आम्दानी व्यवस्थापन गर्न सिक्ने अवसरसमेत दिएको छ ।
सम्बन्धित खबर
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
लागूऔषध मुद्दामा छुटेका युवक फेरि लागूऔषधसहित पक्राउ
कालीगण्डकी ड्याममा पुरुषको शव फेला
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ