समृद्धि हाम्रै पालामा ! अगाडिदेखि जानकारी गराउँदा गराउँदै पनि ठूलो दुर्घटना हुनबाट जोगियो । काभ्रे बेथानचोक–३ च्याल्टीका चेतनाथ (सिएन) पौडेलले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको स्टाटस हो। गाउँमा ६ वटा बिजुलीका पोल जीर्ण थिए । यसबाट चिन्तित चेतनाथ (सिएन) पौडेल भन्ने गर्थे, ‘कुन दिन कसको ज्यान ज्याने हो ?’ उनले प्राधिकरणको ढुङ्खर्क शाखामा पटकपटक आग्रह गरे, पोल परिवर्तनका लागि ।
शनिबार एउटा पोल ढल्यो । उनले तस्बिरसहित फेसबुकमा दुर्घटनाबाट जोगिएको भनेर पोस्ट गरे। तर, दुर्घटनाबाट जोगिएको भनेर लेखेको केहीबेरमा पौडेल संसारबाट बिदा भएका छन्– त्यही ढलेकै पोलमा रहेको तारबाट करेन्ट लागेर। पाेल ढलेपछि प्राधिकरणले केहीबेर बिजुलीकाे लाइन काटेकाे थियाे । तर केहीबेरमा लाइन छाडिदिएछ । भुस्सा काट्ने मेसिन निकाल्न लाग्दा नजिकैबाट करेन्ट लागेर उनी गम्भीर घाइते भए।
पौडेलका आफन्त इन्द्र घिमिरे भन्छन्, “प्राधिकरणले बेलैमा सुनिदिएको भए चेतनाथ दुर्घटनामा पर्ने थिएनन्। लापरबाहीका कारण उनको ज्यान गयो।” वडाध्यक्ष दिलबहादुर श्रेष्ठले पनि पोल मर्मतमा प्राधिकरणको बेवास्ताकै कारण पौडेलको मृत्यु भएको बताए। उनले भने, “बिजुलीको पोल ढलेको बारे प्राधिकरणलाई जानकारी दियौं । तर प्राधिकरणले बेवास्ता गर्यो । समयमै मर्मत गरेको भए दुर्घटना हुन पाउँदैनथ्यो ।” श्रेष्ठका अनुसार प्राधिकरणको बनेपा वितरण केन्द्रमा गएर पटकपटक अनुरोध गर्दा पनि पोल ठड्याइएन।
बाटोमा लत्रिरहेको बिजुलीको तारबाट करेन्ट लागेर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल विद्युत् प्राधिकरण बनेपा वितरण शाखाका प्रमुख रञ्जनराज गुरुङले बेथानचोकमा मात्रै नभई काभ्रेमा ३० हजार जति पोल जीर्ण रहेकाले फेर्ने काम भइरहेको बताए । पोल मर्मतको सूचीमा रहेकाले लापरबाहीका कारण ज्यान गएको भन्न नमिल्ने उनको दाबी छ। उनले भने, “उहाँहरुले पनि जानकारी गराउनुभएको थियो । हामी क्रमशः मर्मत गर्ने योजनामा थियौं।”
वडाध्यक्ष अध्यक्ष श्रेष्ठ भन्छन्, “मेरो वडामा धेरैजसो पोल २०५६ सालदेखिका छन् । कुनै पनि बेला पोल ढलेर मानवीय क्षति हुन्छ भन्ने लागेरै बनेपा वितरण केन्द्रमा जानकारी गराइरहेका थियौं तर बेवास्ता गरियो ।” प्राधिकरणको ढुङ्खर्क शाखामा कार्यालय समयमा कर्मचारी नभेटिने गुनासो स्थानीयको छ । काभ्रेमा करेन्ट लागेर मृत्यु भएका घटना बढेका छन्। केही समयअघि दाप्चामो पोलमा तार फेर्ने क्रममा एकजनाको मृत्यु भएको थियो । यस्तै पशुपति रोडा ढुंगा उद्योगमा पनि करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको थियो।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने