रञ्जन अधिकारी पोखरा, २८ मंसिर / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै बजारिए । बृद्धाको अवस्था अहिले सामान्य छ तर चार दिनपछि विहीबार बच्चाको मृत्यु भयो । पोखरा लेखनाथ ३३ भरतपोखरी निवासी ६० वर्षकी सावित्री आचार्य २२ दिनका नाति काखमा लिएर त्यसदिन पर्वत शंकरपोखरी स्थित बुहारीको माईत जाँदै थिईन् । सुत्केरी बुहारी सरस्वती आडमै थिईन् । सरस्वतीको माईतमा बिहे मनाउन उनीहरु त्यसतर्फ जाँदै थिए ।
छोरेपाटन स्याङ्जा सडकखण्डको कालिमाटी भन्ने स्थानमा घुम्तीमा चालक पछाडिको ईमर्जेन्सी ढोकाबाट उनीहरु एक्कासी खसेका हुन् । दिउँसो साढे १ बजे दुर्घटना भएको हो । त्यसपछि दुवैजनालाई उपचारार्थ पोखरा ल्याईयो । मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा २२ दिने बच्चा सम्पन्नको मृत्यु भयो । प्रकाश आचार्य र सरस्वतीको यो दोस्रो छोरो हो ।

उक्त ना ५ ख २५५८ नम्बरको बस धनी रामचन्द्र पौडेल र अरु ६ जना यात्रु थिए । बसधनी पौडेलका अनुसार सहयोग गर्ने कोहि भएनन्, पछि एक युवा आए विश्वदर्शन पराजुली । दुवै जनाले घाईतेको उद्धार गरे । पराजुलीले घटनाबारे गण्डकन्युज डटकमसँग बेलिविस्तार लगाए:– ‘म आउँदै गर्दा सडकमै हजुर आमा नाति ढलिरहेका थिए । सहयोग गर्ने कोहि थिएनन् । बच्चालाई पहिला बाईकमा नमस्ते हस्पिटल पठाएँ, ट्याक्सी खोजेर हजुरआमालाई पनि विरौटा स्थित नमस्ते हस्पिटल लिएर पुगेँ । तर त्यहाँ पुग्दा २२ दिने सुत्केरी बच्चा लिएर रुदैँ बस्नुभएको रहेछ । हस्पिटलले बसबाट खसेको भनेपछि यहाँ हुँदैन भनेर बच्चाको धड्कन छ कि छैन भन्ने जस्तो सामान्य जाँच पनि गरेनछ । कसैले सहयोग पनि गरेनछन् । यदि चाँडै नै उपचार पाएको भए चार दिन बाँचेको बच्चा बाँच्न सक्ने थियो ।’
उनले थपे– ‘त्यहाँ पुगेपछि एक जना दाईलाई बच्चा र सुत्केरी आमा सहित फेवासिटी हस्पिटल पठाएँ र हजुरआमाको रगत बगिरहेकाले नमस्ते हस्पिटल कै इमर्जेन्सीमा लगँे तर त्यहाँ बच्चा मात्र होईन बुढी आमाको पनि सामन्य पट्टि समेत लगाईदिएनन् । अरु हस्पिटल लैजानुस भन्यो । साथ कसैको पाईएन, हजुरआमालाई एक्लै बोकेर बाहिर ल्याउँदै गर्दा उहाँको छोरा आउनु भयो र उहाँ ट्याक्सी चलाउने हुँदा उहाँकै ट्याक्सीमा हजुरआमालाई फेवासिटी हस्पिटल लगियो । कसैको साथ समेत पाईएन ।’ उनका अनुसार त्यसपछि फेवासिटीले मुटुको धड्कन असामान्य र गम्भिर अवस्था रहेको भन्दै मनिपाल रिफर ग¥यो ।

बस धनी पौडेलले पनि सेवा गर्ने नाममा खुलेका यी हस्पिटलप्रति वितृष्णा जनाए । ‘म आफैले घाईते लिएर गएको छु । मोटरबाईकमा लिफ्ट मागेर, आफै उचाल्दै बोक्दै लगेको छु । नमस्ते हस्पिटलले बच्चा, बिरामी एसेप्ट गरेन, फेवा सिटीले पनि एसेप्ट गरेन, म दंगदास परेको छु । कोहि नजानु भन्छु म दुई ठाउँमा । अनि मनिपालमा लगियो ।’ उनले भने ।
चालक पछाडिको ईमर्जेन्सी ढोका किन धराप बनाएको ? भन्ने प्रश्नमा सवारी धनी पौडेलले गण्डकन्युज डटकमसँग भने– ‘मैले यो गाडी पालेको एक वर्ष मात्र भयो । अहिलेसम्म यस्तो भएको थिएन । नहुनुपर्ने घटना भयो । अस्पतालले म पैसा ब्यहोर्ने मान्छे स्वयं हुँदा हुँदै पनि उपचार गर्न मानेन । एकदम दुःख लागेको छ यो दुई अस्पतालप्रति ।’
बच्चाको मृत्यु भएपछि विहीबार दिउँसो नै सरोकारवाला पक्षबीच क्षतिपूर्ति सम्बन्धमा वार्ता भएपनि सहमतिमा पुग्न सकेन । वडा प्रहरी कार्यालय बैदाममा प्रहरीको रोहवरमा पृथ्वीराजमार्ग बस सञ्चालक समितिका तर्फबाट उपाध्यक्ष एवं दुर्घटना प्रकरण संयोजक धर्मराज अर्याल, सवारी धनी रामचन्द्र पौडेल, पीडितका तर्फबाट बच्चाका बाबु प्रकाश आचार्यबीच वार्ता भएपनि क्षतिपूर्ति बारेमा कुरा नमिलेको हो । घटनापछि आचार्य परिवार अत्यन्त मर्माहत भएको छ । कठोर नहुन समितिलाई बच्चाका बाबु प्रकाशको आग्रह छ । ‘ढोका नै फुस्कने गरी बस गुडाउँछ कोहि ? यस्तो दुःखद घटना भयो । समिति जिम्मेवार बन्न आवश्यक छ । ज्यान गएको छ । यसको क्षतिपूर्ति पैसा हुन सक्दैन तर चलनचल्तीको आग्रह गर्दा पनि किन बखेडा ?’ आचार्यले भने ।

नियमानुसार १ वर्ष भन्दा कम उमेरका बच्चाको सवारी दुर्घटनामा मृत्यु भए २५ प्रतिशत मात्र बीमा हुने भएकाले एक लाख २५ हजार हुने समितिको ठहर छ । पीडित पक्षले विरामीको सम्पूर्ण उपचार खर्च र चलनचल्तीको ५ लाख नै मागदाबी गरेको छ । समितिका महासचिव योगेन्द्र केसीले घटनाप्रति दुःख जनाउँदै आपसी सहमतिमा सल्टाउने प्रतिक्रिया दिए । उनले भने– ‘नियमसम्मत पाउने रकम पाउनुहुन्छ । उपचार बिल भर्पाई अनुसार पाउनुहुन्छ । बृद्धाको उपचार हुन्छ ।’ समितिका संयोजक अर्याल पनि नहुनुपर्ने घटना भन्दै सहमतिमै टुंग्याउने बताउँछन् ।
बच्चाको मृत्युपछि चालक कृष्ण भुषाललाई नियन्त्रणमा लिईएको छ । सोहि दिन बस नियन्त्रणमा लिएपनि भोलिपल्ट छाडिएको थियो । बच्चाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बसबाट बृद्ध र बच्चा खसेपछि फेसबुकमा राखिएको तस्विरमा पोखराका नमस्ते र फेवासिटी हस्पिटलप्रति अत्यन्त घृणाभावमा प्रतिक्रिया बर्सिरहेका छन् । साथै, बृद्ध र बच्चा घाईते भएर सडकमा लड्दा समेत सहयोग नगर्नेहरुप्रति उनीहरुले गाली बर्साएका छन् ।

सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’