रञ्जन अधिकारी
पोखरा, १८ माघ / पोखराका व्यवसायी समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापा सहित चार व्यवसायीसँग करोडौ रुपैयाँ मागेर नदिए ज्यान मार्ने धम्की दिने चार जना माघ १६ गते नै प्रहरी फन्दामा परे । यस्तो योजना बनाएको तीन साता नबित्दै उनीहरुको पोल खुल्यो ।
कास्की प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा उनीहरुलाई पोखरा र स्याङ्जाबाट पक्रेर विहीबार सार्वजनिक गरिसकेको छ । गत पुस २५ गतेदेखि सांसद थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवलकार प्रालिका संचालक राजेशबाबु श्रेष्ठसंग टेलिफोन तथा म्यासेज मार्फत उनीहरुले फिरौति मागेका थिए ।
फरार अपराधी मनोज पुन समूहको व्यक्ति भन्दै धम्की दिएर फिरौती माग्ने गरेका समूहका नाईके स्याङ्जा पुतलीबजार नगरपालिका ६ टक्सार घर भएका ३५ वर्षीय शंकर भनिने नलबहादुर गुरुङ, स्याङजा फेदीखोला ४ घर भएका २६ वर्षका अमृत खड्का, फेदीखोला २ का २३ वर्षका शिव कार्की र पर्वत कुश्मा नगरपालिका १० का २७ वर्षीय रामु सुवेदी पक्राउ परेका हुन् । कार्की बाहेक सबै पोखरा जरेबरमा फ्ल्याट नै भाडामा लिएर बस्दै आएका थिए ।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार पुनको डिजाईनमा खड्काले नेपालबाट मनोज पुन समूहको व्यक्ति भनि पोखरा नै रहेर विवश थापा नामबाट व्यवसायीसंग फिरौती मागी धम्क्याउदै आएका थिए । सुवेदी बोर्डर पुगेर भारतीय मोबाईलको सीमकार्ड प्रयोग गरी आफू नै मनोज पुन हुँ भनी धम्क्याउने गरेका थिए । कार्की भने मतियार बनेका छन् । उनले एसएमएसमार्फत धम्क्याउन सीम प्रदान गरेका थिए ।
उनीहरुले कालु गुरुङसंग १० करोड, बिन्दुकुमार थापासंग २ करोड र बोधराज गिरीसँग २ करोड मागेका थिए । बोधराज कार्कीसँग पैसा माग्ने मनसाय भएपनि मोबाइलमा दुई जनाकै नम्बर सेभ भएकाले कार्कीलाई हानेको फोन गिरीलाई गएको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक यही माघ १५ मा बिन्दु थापालाई तीन दिनको अल्टिमेटम दिएर धम्कीपूर्ण म्यासेज पठाएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएर उनीहरुलाई पक्रिन सफल भएको हो । प्रहरीले उनीहरुलाई शरीर बन्धक तथा अपहरण उद्योगमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । साथै, संगठित अपराधमा मुद्दा चलाउने योजना पनि प्रहरीको छ । नलबहादुरको फेसबुक आईडीमा दाउद ईब्राहिम र दीपक मनाङेलगायतको फोटो राखिएको छ । नलबहादुरले आफूहरु मनोज पुनको मान्छे नभएको र यसमा उनी संलग्न नरहेको बयान दिएका छन् ।
यसरी बन्यो योजना
पोखरामा सोनल टुर एण्ड ट्राभल्स खोलेर बसेका नल बहादुर गुरुङ (शंकर) एक वर्ष अघिसम्म कोशी इन्टरनेशनलमार्फत विदेशमा मान्छे पठाउँदै आएका थिए । सो व्यवसायका क्रममा ७६ लाख डुबेपछि आर्थिक समस्याबाट उम्किन शंकरले धनाढ्यहरुसँग फिरौति उठाउने सोच पहिल्यै बनाएका थिए । पुस पहिलो साता बुटवलमा दुर्गा तिवारी हत्या घटनापछि मनोज पुनका बारेमा शंकरले केहि जानकारी पाएका थिए । उसकै नाम लिएर फिरौति उठाउने मनशायमा उनी पुगे ।
अमृत खड्का साउदीबाट फर्किएपछि यसै बसेका थिए । खड्कालाई शंकरले नै एक वर्ष अघि साउदी पठाएका थिए । गत पुस १५ गते बिरौटामा अचानक अमृत र शंकरको भेट भयो । मोबाइल नम्बर आदानप्रदान गरी उनीहरु छुट्टिए । त्यसपछि उनीहरुले पोखराका धनाढ्यहरुको लिस्ट तयार पारे र फिरौति उठाउन तयार भए ।
रामु सुवेदी भने शंकरबाटै पीडित व्यक्ति हुन् । जापान पठाईदिने भन्दै एक वर्ष अघि सुवेदीसँग शंकरले सात लाख रुपैंया लिएका थिए । तर शंकरले न त सुवेदीलाई जापान उडाए, न त उनको रकम नै फिर्ता गरे । त्यसपछि सुवेदी शंकरसँगै पोखरामा बस्न राजी भए । उनले कोठामा खाना पकाउँथे । पोखरा ६ जरेबर स्थित रत्नमान गुरुङको घरमा फ्ल्याटमा तीन जना बस्न थाले ।
सजिलै पक्रिए
शंकरको योजना अनुरुप खड्का र सुवेदीले धम्क्याउन थालेका थिए । खड्का पोखराबाटै मनोज पुनको मान्छे भन्दै विवश थापा नामबाट धम्की दिन्थे । सुवेदी भारतीय क्षेत्र पुगेर आफै मनोज पुन भन्दै धम्क्याउँथे । समूहमा कार्कीको इन्ट्री भने अगाडि प्रयोग गरिएका दुई एनसेल सीम प्रहरीले बन्द गरेपछि भएको हो । उनी गाडीका सहचालक हुन् ।
जब खड्का र सुवेदीको साथ मिल्यो, शंकरले ९८०५२७०३८४ र ९८०५२७०३८५ का दुई सीमकार्ड प्रयोग गरी पुस २५ देखि व्यवसायीलाई धम्क्याउन सुरु गरेका थिए । थापाको उजुरीपछि प्रहरीले यी दुई सीम पोखराबाटै प्रयोग भएको खुल्यो । विजयपुर र लभ्लीडाँडा क्षेत्रमा पुगेर धम्की दिने गरेका थिए । यी दुई नम्बर एउटै मोबाइलबाट प्रयोग भएको समेत आईएमईआई चेक गर्दा खुल्यो । तर, अनुसन्धानका क्रममा ती नम्बरको पूर्ण विवरण भेटिएन ।
कास्की प्रहरीले एनसेलका क्षेत्रीय प्रमुख, डिलरका समेतलाई बोलाएर यस सवालमा सचेत गरायो । पूर्ण विवरण नभरिएका सीम आपराधिक मानसिकता बोकेकाले यसरी प्रयोग गर्ने र अनुसन्धानमा समेत कठिनाई हुनेबारे सचेत गराएको प्रहरी स्रोतले जनाएको छ ।
दुवै सीम ब्लक भएपछि उनीहरुले विजयपुर खोलामै सीम भाँचेर फाले । यसबीचमा उनीहरुले भारतीय नम्बर ००९१९५३२९१७०४८ बाट फोन समेत गरे । नयाँ सीमको खोजीमा रहेका बेला अमृत खड्काले शिव कार्कीसँग चिनजान भएकाले उनीसँग प्रयोगविहीन सीम दिन आग्रह गरे । त्यसपछि कार्की स्याङ्जाबाट पोखरा आए । खड्काले नै पृथ्वीचोकमा पुगेर बाइकमा जरेबर स्थित कोठामा ल्याए । त्यसपछि बल्ल यो समूहमा कार्की मिसिएका हुन् ।
अब उनीहरुले कार्कीमार्फत पाएको ९८६५१६५५१२ नम्बर प्रयोग गर्न थाले । सोहि नम्बरबाट माघ १५ गते दिउँसो ३ः२३ बजे बिन्दु थापालाई म्यासेज गरिएको थियो । अंग्रेजी प्रयोग भएको उक्त म्यासेजमा आफू विवश थापा रहेको, धेरै अघिदेखिको आग्रह बेवास्ता गरेकाले तीन दिनसम्म नदिए जे पनि गरिदिने धम्कीपूर्ण भाषा छ । अन्तिममा मनोज पुनको कोड भन्दै ‘आइएनसीआर’ समेत लेखिएको थियो । यो म्यासेज पोखराको शान्तिबनबाटिकमा गएर खड्का र सुवेदीले पठाएका थिए । त्यसपछि खड्का स्याङ्जा गए ।
सांसद थापा मार्फत प्रहरीसम्म यो नम्बर आईसकेपछि सिआईबीको सहयोगमा कल डिटेल रेकर्ड लियो । उक्त नम्बरबाट स्याङ्जाका किरण खत्रीलाई फोन गएको देखियो । खड्काले आफ्नो मोबाईलमा राखेको सो सीमबाट झुक्किएर खत्रीलाई फोन गर्नु नै घटनाको रहस्यसम्म पुग्न प्रहरीलाई सहज बन्ने कारण बन्यो । खड्काले दुई सीम रहेको मोबाईलमा आफ्नो नम्बरबाट गर्छु भन्दा धम्की दिन प्रयोग गरिएको नम्बरबाट फोन गएको स्वयंम खड्काले समेत पत्तो पाएका थिएनन् ।
त्यसपछि म्यासेज आएको तीन घण्टा नबित्दै प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा टोली रातारात स्याङ्जा मुभ भयो । खत्रीमार्फत प्रहरी शिव कार्कीकाँ पुग्यो । कार्कीले पहिले सीम एक महिनामै हराएको, आफूलाई थाहा नभएको भनेर प्रहरीलाई ढाँटे । उनलाई पोखरा नै ल्याएपछि बल्ल अमृत खड्कालाई सीम दिएको जनाए । त्यसपछि खड्कालाई भेटाउन कार्कीलाई प्रहरीले आग्रह गरे । राति साढे ११ बजे पोखरा आएपछि जरेबरको कोठा पत्ता लगाउन तीन बज्यो । आफू एकपटक मात्र पृथ्वीचोकबाट बाईकमा बसेर खड्काको कोठा गएको भन्दै कार्कीले खड्का बस्ने कोठा नचिनेको बताए । प्रहरी भ्यानमा बसेर नचिनेपछि हिँडाएरै फेरि कोठाको पहिचान गर्ने काम भयो ।
कोठामा रामु सुवेदी थिए । खड्का दुई दिन अघि नै फेदीखोला गएका थिए । उनी फर्किएर आएपछि पक्राउ परे । खड्का, सुवेदी र कार्कीलाई जिल्ला प्रहरी कार्यालय लगियो । अनुसन्धानका क्रममा शंकर नाइके रहेको खुल्यो । तर उनी कोठामा सधैं बस्ने गर्थेनन् । प्रहरीले निगरानी गरिरहँदा एकजना स्कुटरमा आएर फर्कियो । उनलाई पिछा गरेर पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्प नजिकैबाट उनलाई पक्रियो । मनकामना केबलकार प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठलाई भने ९८१६६३६१३० नम्बरबाट फोन गरेका थिए ।
फिरौती माग गर्न प्रयोग भएका सीम २ थानसहितको मोबाइल प्रहरीले बरामद गरेका ग¥यो । केही आर्थिक प्रलोभनमा परेर नलबहादुर गुरुङ शंकरको योजनामा फसेको सुवेदी र खड्काले स्वीकारेका छन् । कार्की किन यसै फसे भन्नेबारे अझै अनुसन्धान भईरहेको छ । नलबहादुर गुरुङले भने आफूले धेरै ब्यक्तिहरुलाई पैसा दिन रहेको र व्यवहार बिग्रिएकाले यस्तो योजनामा लागेको प्रहरीलाई बयान दिएका छन् ।

निर्माण व्यवसायीलाई छुट्टै समूहको धम्की
कास्की प्रहरीलाई पछिल्लो समय विभिन्न घटनाले टाउको दुखाएको छ । साथै, यसमा सफल पनि बनेको छ । विहीबार सांसद सहितका व्यवसायीलाई धम्की दिने चार जना पत्रकारमाझ सार्वजनिक गरिरहँदा अर्को टोली आफूहरुलाई धम्की आयो भन्दै उजुरी गर्न पुगे ।
निर्माण व्यवसायीको एक टोली आधा दर्जन बढिलाई धम्की आएको भन्दै प्रहरी प्रमुख अशोक सिंह समक्ष डेलिगेशन गएका हुन् । निर्माण व्यवसायी महासंघ, कास्कीका अध्यक्ष बासुदेव गौचन हस्ताक्षरित निवेदन बुझाउँदै उनीहरुले ६ जनालाई धम्की आएको बारे पूर्ण जानकारी गराएका छन् ।
ठेक्का रकमको तीन प्रतिशत नबुझाए केन्द्रिय अध्यक्ष शरदकुमार गौचनकै हालत बनाईदिने भन्दै धम्की दिने गरेको स्रोत बताउँछ । यद्यपी, पीडितहरु मिडियासामु खुलेका छैनन् भने प्रहरीले पनि केहि बोलेको छैन । प्रहरी उपरीक्षक अशोक सिंहले आपराधिक मानसिकता बोकेका जोकोहिलाई कानुनी कठघरामा उभ्याउन कास्की प्रहरी सदैव लागिपरेको बताए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?