गण्डक न्युज पोखरा, २७ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षा क्षेत्रमा भएका वेथितिको अन्त्यका लागि स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उनले विद्यार्थीको बलियो संगठनका लागि स्वतन्त्र विद्यार्थी युनियन गतिशिल हुनुपर्ने बताए ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनामा मंगलबार भएको नव आगन्तुक विद्यार्थीहरूको स्वागत, सम्मान एवम् पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पाण्डेले स्ववियु निर्वाचन रोकिएको क्याम्पसमै यसरी स्ववियुको पक्षमा बोलेका हुन् ।
गत वर्ष फागुनमा पोखराका पाँच क्याम्पसहरु पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, जनप्रिय क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, विन्दुबासिनी संस्कृत विद्यापीठ र चिकित्सा शास्त्र अध्ययन संस्थानमा स्ववियु निर्वाचन सम्पन्न हुँदा मुलुककै प्रतिष्ठित र ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा भने विद्यार्थी संगठनबीचकै विवादले हुन सकेको थिएन । पोखरा विश्वविद्यालय, केन्द्रिय क्याम्पसमा यसै सातामात्र पहिलो पटक स्ववियु निर्वाचन भएको छ ।
उनले नेपालको शिक्षा नीति वैज्ञानिक, व्यवहारिक र नेपालको माटो सुहाउँदो तयार पार्न अनेरास्ववियुको भूमिका महत्वपूर्ण हुने बताए । बैशाख ९ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने र त्यही अनुसार तल्लो तहमा पनि कार्यकर्ता मिलेर जानु पर्ने उनको भनाई छ ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीका संयोजक राजन शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश संसद राजेन्द्र राई, नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष तथा प्रदेश संसद कृष्ण थापा, पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति तथा अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष शोभियत ढकाल, अनेरा स्ववियुका केन्द्रीय सचिव सुदेश पराजुली, सचिवालय सदस्य सरिता पुरी, केन्द्रीय सदस्य भरतमान गुरुङ, त्रिवि जिल्ला कमिटी संयोजक विवेक देवकोटा, भूगोल अध्यक्ष शेखर गौतम लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीका सचिव विजय पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?