गण्डक न्युज पोखरा, ३० चैत पोखराको बीच भाग भएर बहने फिर्के खोलाको सिमाना छुट्याउन रेखाङ्कन कार्य सकिएको छ । पोखरा लेखनाथ महानगरपालिकाले वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखाङ्कन गर्ने कार्य सम्पन्न गरेको जनाएको छ ।
त्यसैको व्यवस्थापन गर्न सहजिकरणको लागि महानगर प्रमुख मानबहादुर जिसि, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह, सम्बन्धित वडाका वडा अध्यक्ष, प्राविधिक सहित शुक्रबार छलफल गरिएको छ ।
फिर्के खोलालाई ५ मिटर पनि नछाड्ने १९२ वटा संरचना भेटिएको छ । जसमा सरकारी भवन ७ वटा, मठमन्दिर २, बिद्यालय कलेज ३, पक्की संरचना ७२, संघसंस्थाको भवन ११ वटा र बाँक कच्ची संरचना परेको छ । १५ दिनभित्र कानुनी रुपमा स्वीकृत पाएका संरचनाको क्षति मुल्याकंन गर्नको लागि नापी र महानगरले कार्य अगाडि बढाउने बताईएको छ ।

गत फागुन ३० गतेदेखि महानगरले मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालेको थियो । ५ मिटर मापदण्ड अत्यन्त थोरै भन्दै अझै बढी हुनुपर्ने आवाज उठेको छ ।
रेखांकन कार्य सुरु हुँदा महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाइ र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिएका थिए । फिर्केको कहाँ ? कसले ? र कति ? जमिन मिचेको पत्ता लगाएर रेखाङ्कन गर्ने भन्दै उनले भनेका थिए ‘फिर्के खोलाको क्षेत्रफल कति हो ? त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन ? मिचेको हो भने कसले कति मिचेको हो ? भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई विदाइ गरिन्छ ।’
महानगर प्रमुख जिसीले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने पनि बताएका थिए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई थियो । अब यो भनाई कार्यान्वयनमा आउँछ कि आउँदैन हेर्न बाँकी छ ।
पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने महानगरको योजना छ ।
फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकिलो रहेका छन् । यी खोलामाथि कतिपय स्थानमा अतिक्रमण गरेर घर, समाज भवन, लायन्स क्लब, विद्यालय समेत बनेका छन् ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?