प्रदेश ४ को बजेट लोकप्रियताका लागि आउँदैनः मुख्यमन्त्री गुरुङ

प्रदेश ४ को बजेट लोकप्रियताका लागि आउँदैनः मुख्यमन्त्री गुरुङ

20180604_104015

पोखरा । प्रदेश नं. ४ को आउन लागेको बजेट लोकप्रियताका लागि नहुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पष्ट पारेका छन् । प्रदेश सरकारको आगामी बजेट उत्पादनमुखी र विकासका लागि हुने उनको भनाई छ ।

प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पोखरामा सोमबार आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी प्रदेश सरकारले बजेट ल्याउन लागेको छ ।’ उनले भने ‘लोकप्रियताका लागि बजेट आउँदैन । पर्यटन, उद्योग, जलश्रोत, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा अघि बढाउनेछौं ।’

ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उनल यहाँका उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताए । उज्यालो प्रदेश बनाउने घोषणा गरिसकेको अवस्थामा उर्जा उत्पादनको विकल्प नरहेको उनको भनाई छ । प्रदेश सरकारले यहाँको आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उनको जोड थियो ।

मुख्यमन्त्री गुरुङले केन्द्र सरकारप्रति फेरि चित्त दुखाएका छन् । प्रदेश सरकार उत्साहका साथ अघि बढेपनि संघीय सरकारले प्रदेशलाई अधिकार के हो भन्ने बारे ? अझै प्रस्ट नपारेको गुनासो गरे । ‘हामीले आफै गर्न पाउने कति हो ? काठमाण्डौ के के कामका लागि धाउने हो ? समृद्धि त यहींबाट पनि सुरु गर्नुपर्ने होला नि ।’ उनले भने ‘एकै चोटी बजेटमा आउँछ भनियो । बजेटमा खै त के आयो ? नीति अधिकार सबै अस्पष्ट छ । संघीयता भनेको अधिकार बाँडफाँड होला । अझै अलमलमा छौं ।’

कार्यक्रमको अध्यक्षता समेत गरेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश नं ४ लाई दुई वर्षभित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्न सक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गरे ।

कार्यक्रममा नविकरणीय उर्जा उपलब्धी, सम्भावना र चुनौतिहरु विषयमा प्रस्तुति राख्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्याल र निर्देशक डा. नारायणप्रसाद अधिकारीले नगरको फोहरलाई ऊर्जाको रुपमा परिणत गर्न सकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए ।

नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नं ४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्न सकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राखे । उनले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउन सकिने र त्यसका लागि बायोग्यास प्रवद्र्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु किरण गुरुङ, हरिबहादुर चुमान, विकास लम्साल, नरदेवी पुन, लेखबहादुर थापा, पूर्व मन्त्री गणेश शाह प्रदेशसभा सदस्यहरु, सरोकारवाला निकायका प्रतिनिधि, ऊर्जा व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

तस्विरः रञ्जन अधिकारी÷आदर्श समाज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ