ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा बसका चालकले बसमै आगो लगाएका छन्। रिद्धिसिद्धि यातायातका चालकले आगो लगाएका हुन्। उनी आगो लागेर घाइते भएका छन्।
सोमबार दिउँसो आफैँले चलाएको बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक २५ वर्षीय दावा लामाले ट्राफिक प्रहरीसँग विवाद गरेको तथ्य बाहिरिएको छ। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफूमाथि बिनागल्ती दुर्व्यवहार गरेको र हातपात गरेको भन्दै आक्रोशित बनेका लामाले त्यसको केही समयपछि नै यात्रुविहीन बसभित्र आफैँलाई थुनेर आगो लगाएका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा चालक दावा लामा ट्राफिक प्रहरीमाथि निकै आक्रोशित मुद्रामा प्रस्तुत भएको देखिन्छ। भिडियोमा उनले आक्रोश पोख्दै भनेका छन्, ‘मलाई बिना गल्ती किन हान्नुपर्यो ? मेरो गल्ती बिना उहाँले किन यस्तो गर्नुभयो ? मैले यति धेरै सहयोग गर्दागर्दै मलाई चाबी झिकेर हान्नुभयो।’
उक्त भिडियोमा चालक लामाले आफू झापाको भएको बताउँदै ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, ‘हामी झापाको मान्छे हो सर,…. यहाँ म छोड्दिनँ….जे गर्न सक्छस् गर् रे पुलिस प्रशासनले।’ त्यतिबेला वरिपरि रहेका सर्वसाधारण तथा अन्य व्यक्तिहरूले उनलाई सम्झाउँदै गाडी साइड लगाउन आग्रह गरे पनि उनी अत्यन्तै उत्तेजित अवस्थामा देखिएका थिए।
त्यस विवादको केही समयलगत्तै लामाले त्रिपुरेश्वर सडक खण्डमा बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्र आफूलाई बन्द गरी आगो लगाएका थिए । बसमा कुनै पनि यात्रु नभएका बेला चालकले आगो लगाएपछि गाडी ह्वारह्वार्ती बलेको थियो। तत्कालै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने गाडीभित्र जलेर गम्भीर घाइते भएका लामाको उद्धार गरिएको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो। कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा.विशाल कार्कीका अनुसार चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ र उनको अवस्था अत्यन्तै गम्भीर तथा चिन्ताजनक रहेको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए।
ट्राफिक प्रहरीको ज्यादती भएको उक्त यातायात कम्पनीले दाबी गरेको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष तथा ऋद्धिसिद्धी यातायातका मुख्य सल्लाहकार नीर कार्कीले ट्राफिक प्रहरीसँग भनाभन भएपछि चालक दावा लामाले यात्रुहरूलाई गाडीबाट ओरालेर आगो लगाएका थिए ।
यात्रु उतार्ने र चढाउने क्रममा हर्न बजाएको भन्दै ड्युटीमा खटिएका ट्राफिकले चालक लामालाई गाली गरेका थिए । काठमाडौं उपत्यकाका सार्वजनिक सडकमा हर्न निषेधित छ । निषेधित कार्य गरेको कसुरमा चिट काट्ने भनेपछि चालक लामाले यात्रुलाई उतारेको सल्लाहकार कार्कीले बताए ।
गाडी मालिक लव केसीले आफूसँग चालकले ट्राफिक प्रहरीले दुख दिएको भन्दै आत्महत्याको कुरा गरेको बताए । सवारी धनी केसीले भने – ‘मैले चालकलाई फोन गरेँ । मेरो गल्ती छैन, मलाई ट्राफिकहरूले यस्तो यस्तो गर्यो, ह्यारेसमेन्ट गर्यो भन्यो । त्यसपछि उसले मलाई फोनमै के भन्यो भने, ‘आज ट्राफिकले मलाई बग्गीखाना पठाउने भए अहिले मेरो लास हुन्छ । चालकको घरायसी समस्या त्यस्तो केही पनि थिएन । उसले बिहे गरेको छैन, अनम्यारिड ठिटो हो । परिवार भएको होइन, गाडीमै बस्ने हो । यसले गाडी चलाएको पनि मोटामोटी दुई-तीन महिना भयो । त्यसमा पनि मैले यो गाडी लिएको भर्खर एक महिनाजति भयो ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालक २५ वर्षीय दावा लामाले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा