श्यामशितल परियार, लमजुङ । खेतमा ‘लहलह’ धान झुलेको छ । बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली । दिन घमाईलो छ । बजारमा बसेका छोराबहाुरी नाति पनि घरमा आएका छन् । दसैँको बेला गाउँमा मानिसको चहलपहल पनि बढेको छ ।
दसैँको छुट्टै रौनक छ । तर सुन्दरबजार नगरपालिका –६, का जुठे परियारको मन भने खासै रमाएको छैन, दसैँको उल्लासमय समयमा पनि । दसैँको बेला पनि उनलाई केही खल्लो महसुस भएको छ । दसैँको बेला ‘नहराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको हो, उनलाई ।
उनका अनुसार केही वर्ष अघिसम्म नौरथ सुरु भएदेखी नै गाउँ–शहरमा नगरा लगाउथे । नगरा लगाउँदाको दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो ।

‘नौरथ देखी उस्तै परे पूर्णेसम्म नगरा लगाउँथे । नगराको धुन सुन्न पाउँदा दसैँ आएजस्तो हुन्थ्यो । मनमा छुट्टै आभाष हुन्थ्यो । अहिले त नगराको धुन सुन्नै पाईँदैन । दसैँ नै सुनसान भएको छ । मलाई त दसैँ नै खल्लो लागेको छ,’ घरको पिँढीमा बसी चिया पिउँदै गरेका परियारले निराशा भावमा भने ।
जानकारहरुका अनुसार केही वर्ष अगाडि दसैको सुरुका दिनदेखी नै गाउँ–बस्तीमा दमाहा बजाएर नगरा लगाएको सुन्न सकिन्थ्यो । दसैँको बेला नगरा लगाएको घरमा सुख–शान्ति छाउने धार्मिक विश्वास पनि रहि आएको छ । दसैँको बेलामा परियारका समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै गएको छ ।
छैन युवापुस्ताको चासो र चिन्ता
युवा पुस्ताले चासो नदिँदा, नगरा लगाउनेलाई समाजले पनि राम्रो नजरले नहरेकै कारण यो प्रचलन बिस्तारै हराउँदै गएको सुन्दरबजारकै ५३ वर्षे भुलबहादुर परियारले बताए ।
‘अहिलेका ठिटाहरु बाजा बजाउनै लाज मान्छन् । बरु अरु समुदायका मान्छेले बाजा बजाएर हिँड्न थालिसके । त्यसैमाथि यो नगरा लगाउने चलन त हराईनै सक्यो नि । नगरा लगाउनेलाई समाजले खासै राम्रो नजरले पनि हेर्दैनन् । त्यसैले युवापुस्ताको त यसमा कुनै चाख नै छैन,’ उनले थपे ।
गतवर्ष दसैँको घटस्थापनादेखी नै नहरा लगाउँदै गाउँबस्तीका घर–घरमा पुगेका लमजुङ–फेदीकुना भुत्याहका भक्तबहादुर परियारले अहिलेको वर्ष नगरा लगाएनन ।
गतवर्ष गाउँमा रहेका २ सय बढि घरधुरीमा नगरा लगाई राम्रै भाग (नगरा लगाएस्वरुप विस्टले दिने दान) उठाएका उनले अहिलेको वर्ष भने नगरा लगाएनन ।
‘बिहान–बिहानै उठी नगरा लगाउँदै घर–घर पुग्नुपर्छ । उमेर पनि ढल्क्यो । नगरा लगाउनै गाह्रो भो । त्यसैले अहिलेको वर्ष नगरा लगाउन सकिन । अब नगरा लगाउन सक्दिन होला बाबै !,’ लामो समयसम्म नगरा बजाउँदै आएका भक्तबहादुरले नरमाईलो मान्दै भने ।
उनका अनुसार यो परियार समुदायको सँस्कार हो । परम्परा हो । पुर्खाले दिएको सम्पत्ति हो । ‘तर अहिले यो परम्परा सखापै भयो नी !,’ निन्याउरो पारामा बोले ।
सुतेकी देवी पनि ब्युँझने विश्वास !
घटस्थापनादेखी ब्राह्मण क्षेत्री समुदायमा दसैँको नवमीसम्म बिहानमा दुर्गा भवानीको पूजा गर्ने चलन छ । दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नहरा लगाएको घरमा सुख–शान्ति, समृद्धि छाउने विश्वास रहि आएको शिक्षण पेशामा लामो अनुभव बटल्नुभएका भोटेओडारका हरिप्रसाद अधिकारीले बताए ।
पछिल्लो समय यो प्रचलन हराउँदै गएकोमा उनलाई पनि ‘नमज्जा’ लाग्छ । हिन्दु धर्मसँस्कृतिसंग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएकोमा सँस्कृतिप्रेमीहरुले चिन्ता व्यक्त गरेका छन् । परियार समुदायको मौलिक सँस्कार भएकाले नगरा लगाउने प्रथा जोगाउन सबै परियार समुदाय जुट्नुपर्ने सरोकारवालहरु बताउँछन् ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर