सचिन ‘गोरे’ को हत्या गर्ने ‘बेनी काले’ पक्राउ, केटीका कारण झगडा (घटना पूर्ण विवरण)

सचिन ‘गोरे’ को हत्या गर्ने ‘बेनी काले’ पक्राउ, केटीका कारण झगडा (घटना पूर्ण विवरण)

beni kale

– आफैले बोकेको चक्कूले लियो ज्यान
– डल्ली बिहे गर्छु भन्दा हानाहान
– आफै गरेका थिए प्रहरीलाई खबर
– सीसी क्यामेराले पत्ता लाग्यो हत्यारा
– डल्लीसँगै काले र गोरेले खाएका थिए रक्सी
– ट्याक्सीमा पृथ्वीचोक पुगेर चक्कु लुकाएर शव हेर्न फर्केका थिए काले

रञ्जन अधिकारी, पोखरा । लेकसाइडमा सोमबार मध्येरात १४ वर्षीय सचिन सिञ्जालीको हत्या गर्ने पक्राउ परेका छन् । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले हत्या गरेका हुन् । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा अहिले दिउँसो ४ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिदैंछ ।

पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिनको चक्कूले घाँटी रेटेर हत्या भएको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको थियो । प्रहरीले सीसी टिभी क्यामेरा सहायताले केहि घण्टामै हत्यारा पत्ता लगाएको छ । हल्नचोकबाट पामे तर्फ जाने बाटोमा बन्दै गरेको घरमा शव भेटिएको थियो । वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीका अनुसार मुख्य अभियुक्त बेनी काले रहेको र उसले २ जना बालकहरुको नाम समेत जोडेकाले उनीहरुको बारेमा अनुसन्धान भईरहेको जानकारी दिएका छन् । सचिनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ ।

सचिनका बुबा र आमा १२ वर्षदेखि सँगै बस्दैनन् । मृतकका बाबु गोबिन्द सिन्जाली पनि पोखरा नै छन् । उनी लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । मृतक सचिन हजुरआमा र आमासँग नै बस्दै आएका थिए । कहिलेकाहिँ बुबासँग पैसा माग्न जाने गर्दथे । सचिनका दाइ पनि छन् । आमा सुनिता लेकसाइडमै एक स्पा चलाउँदै आएकी छन् ।

यसरी भयो घटना

उनीहरु सडकमै मागी हिड्ने समूहका हुन् । मृतक सचिनलाई गोरे भनेर बोलाइने र म्याग्दी बेनीतिरका भएकाले अभियुक्त कुमारलाई बेनी काले भनेर बोलाइने गरेको प्रहरीले बताएको छ । सोमबार बेलुकीदेखि नै आधा दर्जन जम्मा भएर रक्सी खान थाले । अभियुक्त बेनीकालेसँगै बाहुन भन्ने बुद्ध रिमाल, मोटे भन्ने सुशान्त परियार, सबैभन्दा सानो सुकदेव नेपाली, डल्ली भन्ने सुनिता बसेर रक्सी खाए । १३ वर्षीय मोटे सुशान्त र १० वर्षीय सुकदेव अभियुक्त बेनीकालेको ग्याङको भनेर आफूलाई चिनाउँछन् । यो समूहले डल्लीलाई बेनीकालेको गलफ्रेण्ड भन्छन् । बेलुकी रक्सी खाने बेला मृतक गोरै थिएनन् । मृतक गोरे कहिलेकाहिँ सडक बालकका रुपमा हिँड्ने गरेको थाहा हुन आएको छ । अरुबेला आमासँगै बस्ने र लागूऔषध खान मात्र समूहमा मिसिने गरेको अनुसन्धानमा पत्ता लागेको छ ।

उनीहरु मध्येरात १२ बजेसम्म घटनास्थल सहित विभिन्न ठाउँमा पटक पटक मादक पद्धार्थ सेवन गरेको बयान अभियुक्तले दिएका छन् । बियरदेखि छ्याङ, सस्तो तर स्वास्थ्यका लागि हानिकारक कडा रक्सी बट्टारे समेत पिएको स्विकार गरेका छन् ।

बेलुकीदेखि नै घटनास्थलमा रक्सी खाएर बसेको समूहमा पछि गोरे मिसिए । त्यही क्रममा गोरे र बाहुनको झगडा भयो । २६ वर्षीय बाहुन कुलतमा फसेर हात समेत काटिएको अस्वस्थ छन् । झगडापछि बाहुन पसलतिर हिँडे । त्यसपछि बेनीकाले र गोरे पनि बाहिर निस्के । उनीहरुले दुई बोत्तल बिअर र चुरोट किने । पछि फेरि बन्दै गरेको घरमै फर्किए । साढे १० बजेतिर बेनीकालेकी प्रेमिका भन्ने डल्ली निस्केर गईन् । उनीहरु पनि निस्के ।

राति १२ बजेर १३ मिनेटमा ४ जना पुनः घटनास्थल फर्के । त्यसक्रममा बेनीकाले, गोरे, मोटे र फुच्चे (शुकदेव) थिए । सीसी क्यामेरमा १२ बजेर ४६ मिनेटमा ३ जना बाहिरिएको देखिएको छ । यसबीचमै हत्या भएको थियो । ४ जना रक्सी खाएर टिल्ल थिए । निर्माणाधिन घरमा पुगेपछि गोरेले म बिहे गर्ने हो डल्लीलाई भने । त्यसपछि डल्ली मेरो बुढी हो भन्दै बेनी काले रिसाए । त्यसैक्रममा झगडा भयो । गोरेले सधैं सानो चक्कु बोक्ने गरेको साथीहरुले बताएका छन् । उनले त्यही चक्कुले बेनीकालेको दाहिने खुट्टामा प्रहार गरे । त्यसपछि बेनीकालेले लडाएर घोप्टो पारी चक्कूले घाँटी रेटे ।

१३ वर्षीय मोटे र १० वर्षीय फुच्चे आफूहरु सुतेको बयान दिएका छन् । तर, अभियुक्त बेनी कालेले भने दुई जनाले हातखुट्टा समाएर आफूले चक्कूले घाँटी रेटेको बयान दिएका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । मोटेले खस्याकखुसुक गरेपछि आफू ब्युझिएको बताएका छन् । बेनी कालेले मारिसकेको र रगत बगिरहेको देखेपछि फुच्चेलाई हामी भागम् भन्दा बेनीकालेले तिमीहरु कसैलाई भनिस् भने म मार्दिन्छु भनेको मोटेको बयान छ । बेनी कालेसँग यहाँ बयान बाझिएको छ ।

हत्या गरेपछि बेनीकाले, मोटे र फुच्चे हल्लनचोकमा पुगेर ट्याक्सी लिएर पृथ्वीचोक पुगेर सब्जीमण्डी नजिकैको दमकल राख्ने ठाउँमा गएर चक्कू लुकाए । त्यसपछि, पुनः घटनास्थलमा पुगेर हेर्दा गोरे मरिसकेको देखे । उत्तानो पारेर सुतेको जस्तो बनाएर बेनी काले फर्किए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले ४ जना पसेको, ३ जना निस्किएको, १ घण्टाबीचमा बेनीकाले पुनः घटनास्थल गएको, फर्किएको सबै सीसी क्यामेरा रेकर्डमा देखिएको बताए । तर, बेनी काले आफै प्रहरीलाई खबर गरेर झुक्याउन खोजेका थिए ।

मरेको भेटिएपछि बेनी कालेले एउटा ट्याक्सी ड्राइभरलाई मेरो साथी त्यो घरमा त्यस्तो अवस्थामा छ, हस्पिटल लैजाउँ भनेर भने । पुलिसलाई खबर गर्न भनेपछि ट्याक्सी ड्राइभरकै नम्बरबाट १०० मा फोन समेत गरे । तत्काल प्रहरी घटनास्थल पुग्यो । त्यसबेला राति साढे २ बजेको थियो । बेनी कालेले नै घटनास्थलसम्म प्रहरीलाई लगेका थिए । उनले बाहुनले मारेको भनेर प्रहरीलाई ढाँटेका थिए । तर, सीसी क्यामेरामा राति ९ बजेपछि बाहुन देखिएनन् । प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएर केरकार गर्दा बेनी काले कुमार गर्बुजाको संलग्नता देखियो ।

[गण्डकन्यूजबाट प्रकाशित समाचार सामाग्री श्रोत समेत नखुलाई कपी गरेको पाइएकाले कम्तिमा स्पष्ट श्रोत खुलाइदिनुहुन अनुरोध छ]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds