चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो ।
यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो । ‘बिहान साढे १० बजे उहाँहरुलाई अदालत उपस्थित गराइएको थियो’, जिल्ला अदालत, चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले भने, ‘अहिले बयान सकिएको छ ।’
बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको उनले बताए । उनका अनुसार, जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।
वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।
मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।
पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।
टीभी कार्यक्रम प्रस्तोता लामिछाने पक्राउ परेलगत्तै उनका समर्थकले दैनिकजसो प्रदर्शन र विरोध जारी राखेका छन् । आइतबार थुनछेक बहस हुने अनुमानमा चितवन आएका सयौं समर्थकसँग प्रहरीको घम्साघम्सी पनि परेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरले अश्रुग्यास नै प्रहार गर्नुपर्यो ।
घटनापछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार विहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि चितवनमा निषेधाज्ञा जारी गरेका छन् । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि भनिएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष