काठमाडौं । पर्यटनमन्त्री विरुद्ध जहाजमै हुलहुज्जत गर्ने ज्ञानेन्द्र शाही अहिले प्रहरी नियन्त्रणमा छन् ।नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले उनलाई त्यहाँबाट उद्दार गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो । आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् ।तर मन्त्रीले झुट बोकेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियन्त समेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।
ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएको राइले बताए। ‘पत्रकार सम्मेलनमा हुलहुज्जत भयो। विवाद चर्किने देखेपछि हामीले सुरक्षाका लागि परिसरमा राखेका छौं।’ उनले भने
मन्त्री भट्टराईले नियतवश नगरेको नभई कार्यक्रम ढिला हुन पुगेको र काठमाण्डौ फर्किहाल्न पर्ने भएकाले केही समय ढिला भएको भन्दै माफी मागेका छन् । सभ्य नागरिकले अबदेखि समयको ख्याल गर्न सुझाव दिएका छन् । ढिला भएको भन्दै मुख छाड्ने, तथानाम गाली गर्ने शाहीको असभ्य व्यवहारको चर्को आलोचना भइरहेको छ ।
नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज
मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।
हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’
पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।
कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो ।भ्रष्टाचार विरोधी कार्यक्रम गरेर नेपालगञ्जबाट काठमाडौं फर्कन लागेको ज्ञानेन्द्र शाहीको टोलीले विमानभित्र र बाहिरसमेत मन्त्री भट्टराईलाई थर्काएको भिडियोमा देखिन्छ, जसलाई शाहीले ‘मन्त्रीलाई रामधुलाई गरिएको’ भनेका छन् ।
शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –
‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’
मन्त्री भट्टराई भन्छन्- क्षमाप्रार्थी छु
यसैवीच मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ-
‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।’
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष