चिनियाँ राष्ट्रपति २३ वर्षपछि नेपालमा (लाइभ हेर्नुहोस्)

चिनियाँ राष्ट्रपति २३ वर्षपछि नेपालमा (लाइभ हेर्नुहोस्)

China president

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं ओर्लिएका छन्। भारतको दुई दिने भ्रमण सकेर राष्ट्रपति सी नेपाल आइपुगेका हुन्। राष्ट्रपति सी शनिबार दिउँसो ४ः ४५ मा ल्यान्ड भएको एयर चाइनाको विशेष विमानमा आएका हुन् । यसअघि चिनियाँ सुरक्षाकर्मी सवार विमान ४ः१० मा ल्यान्ड भएको थियो । राष्ट्रपति सी दोस्रो विमानमा आएको महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए ।

राष्ट्रपति सी काठमाडौंमा ओर्लिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल साढे दुई घण्टा प्रभावित भएको छ। विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले विज्ञप्ति जारी गर्दै अतिविशिष्ट मुभमेन्ट सम्बन्धी सूचना सार्वजनिक गर्दै ३ बजेदेखि साढे ५ बजेसम्म प्रभावित हुने जानकारी गराएका थिए।

राष्ट्रपति चिनफिङलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल जाँदैछन्। परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको समय तालिका अनुसार साढे ४ बजेपछि सोल्टी होटलमा राष्ट्रपति भण्डारीसँग सीको भेटवार्ता हुनेछ।

https://www.facebook.com/neptv2041/videos/395218367818076/

आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका नेतासँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ। विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ‘टाइसहित सुट सेट’ र महिलाका लागि ‘सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ। निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ।

चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा च्याङ चमिनले नेपालको भ्रमण गरेका थिए। यद्यपि चीनबाट प्रधानमन्त्री र विदेशमन्त्री स्तरमा भने नेपालमा भ्रमण भइरहेका छन्।

चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुनेछ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले जनाएका छन्।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीले एजेन्डा तयारी पारेका छन्।

चीनले पूर्व-पश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी छ। केरुङ-काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ। नेपालले त्यही प्राथमिकता बुझेर तयारी अघि बढाएको हो। आइतबार साढे ११ बजेपछि राष्ट्रपति सी बेइजिङका लागि चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds