पोखरा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।
विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।

तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँशुकविको क्षमतासमेत थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
शाकुन्तल महाकाव्यमा पूर्वीय एवं आधुनिक सभ्यताको संयोजन भएको नेपाली विषयको दर्शनाचार्य तह (एमफिल) मा ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ विषयमा शोध गरेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए ।
नेपाली साहित्यको महाकविको पदवी दिइए पनि देवकोटा स्मरण वार्षिकरुपमा औपचारिकतामा मात्र सीमित भइरहेको उनको गुनासो छ । उनको घरलाई सङ्ग्रहालय बनाउनेलगायत कुरा गफमै हराउने गरेको नेपाली साहित्यका पाठकको भनाइ छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण