काठमाडौँ — बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली ग्रान्डीबाट ८ बजेर ५ मिनेटमा डिस्चार्ज भएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस गरेर बेलुका डिस्चार्ज भएका हुन्।उनी अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएका छन्। प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्नुपूर्व पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका निर्देशक तथा वरिष्ठ हाडजोर्नी प्रत्यारोपण विशेषज्ञ डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो भएकोले डिस्चार्ज गर्न लागिएको बताएका थिए।
‘हिजो अस्पताल आउँदा उहाँको रगतमा क्रियाटिनिनको स्तर माथि थियो। हिजो र आज डायलाइसिस गरेपछि अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘उहाँमा संक्रमण पनि छैन। त्यसैले उहाँलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो। अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार गएपनि उहाँको निजी चिकित्सक डा. दिव्यसिंह शाहसहितको विज्ञ चिकित्सकको टोलीले उहाँको निगरानी गरिरहने छ। उहाँहरु पनिसँगै नै जानु हुन्छ।’
डा. पाण्डेले प्रधानमन्त्री ओलीलाई थप डायलाइसिसको आवस्यकता रहे/नरहेको बारे केही खुलाउन चाहेनन्। ‘थप डायलाइसिस गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै भन्न मिल्ने कुरा होइन। उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको रगतको विभिन्न परीक्षण गर्नुहुन्छ र त्यसपछि के गर्ने भन्ने निर्णय लिनुहुन्छ,’ उनले भने। डा. पाण्डेले पत्रकार सम्मेलन अवधीभर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाललाई ठिक रहेको बताउँदै त्यसमा कुनै शंका नगर्न आग्रह गरेका थिए।
ग्राण्डीका निर्देशक डा. पाण्डेले प्रधानमन्त्रीको अगाडिको उपचार प्रक्रियाका बारे डा. दिव्यसिंह शाहले नै निर्णय लिने बताएका थिए। बुधबार डा. पाण्डे र डा. शाहले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गरेर नियमित उपचार प्रक्रियाका लागि भर्ना गरिएको बताएपनि आज भने उनले डायलाइसिस गरिएको स्वीकार गरेका छन्। बिहीबार अस्पतालले डा. पाण्डे र डा. शाहकै हस्ताक्षरसहित जारी गरेको विज्ञप्तीमा पनि प्रधानमन्त्रीको डायलाइसिस भएको उल्लेख गरिएको छ। तर ओलीको कतिपटक डायलाइसिस गरियो भन्ने बारे भने औपचारिक जानकारी दिइएको छैन।
‘प्रधानमन्त्री हस्पिटलमा नियमित स्वास्थ्य परिक्षण तथा उपचारका लागि भर्ना हुनुभएको आज दोस्रो दिन हो। हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस असप्तालमा उहाँको स्वास्थ्य परिक्षण र उपचारको क्रममा हेमोडायलाइसिस गरिएको छ। आजै उहाँलाई डिस्चार्ज गरिँदै छ।’
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्