कालापानीबारे प्रधानमन्त्री ओलीको बोलीपछि भारतीय मिडिया लेख्छ: ‘नेपालका प्रधानमन्त्रीकाे आक्राेश !’

कालापानीबारे प्रधानमन्त्री ओलीको बोलीपछि भारतीय मिडिया लेख्छ: ‘नेपालका प्रधानमन्त्रीकाे आक्राेश !’

Indian_News_ojAlYesLso

काठमाण्डौ – एक इन्च नेपाली भूमि कसैलाई मिच्न नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका थिए । प्रधानमन्त्री ओलीले भारतले आफ्नो नयाँ राजनैतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेपछि पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।

नेपाली जमिनबाट आफ्ना सेना फिर्ता लैजान उनले भारतलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीकाे अभिव्यक्ति थियाे, ‘नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई भारतीय सञ्चार माध्यमले पनि प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

बीबीसी हिन्दीले यस प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई विशेष महत्वका साथ प्रकाशन गरेको छ । ‘कालापानी विवादमा नेपाली प्रधानमन्त्री ओलीले भारतलाई भने – ‘एक इञ्च पनि जमिन दिने छैनौँ’ शीर्षकमा बीबीसी हिन्दीले सोमबार लामो समाचार छापेको छ ।

बीबीसी हिन्दीले कालापानी नेपालको हिस्सा भएको ओलीको अभिव्यक्तिलाई प्राथमिकता दिँदै लेखेको छ, ‘भारतले नयाँ नक्सामा कालापानी आफ्नो हिस्सा भएको बताएको छ । कालापानी नेपालको पश्चिीमी सीमामा पर्छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतले कुनै प्रतिक्रिया दिएको छैन । तर भारतले नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरेको बताएको छ ।’

त्यस्तै बीबीसीले प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गर्नुभन्दा पहिले जमिन नै फिर्ता लिने अभिव्यक्ति दिएको कुरालाई प्राथमिकता दिएको छ । कालापानी विवादबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेको र कालापानीबारे आफ्नो प्रतिक्रिया नदिएकाले नेपालमा ओलीको आलोचना भएको पनि बीबीसीले लेखेको छ ।

त्यस्तै भारतीय पत्रिका अमर उजालाले आफ्नो अनलाइन संस्करणमा यस समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । ‘नेपालका प्रधानमन्त्रीको घोषणा : कालापानी इलाकाबाट भारतीय सेना हटाइन्छ’ शीर्षकमा अमर उजालाले समाचार प्रकाशन गरेको छ ।

उसले सुरुमै प्रधानमन्त्री ओलीको भनाइलाई उद्धृत गर्दै लेखेको छ, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी इलाकाबाट आफ्नो सेनालाई फिर्ता लैजान भारतलाई आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘नक्सा त जसले पछि छाप्न सक्छ । कुरा नक्सामा सुधारको होइन, अतिक्रमणको हो । नेपाल अरुको एक इन्च जमिन पनि लिँदैन र आफ्नो पनि एक इन्च जमिन अरुलाई दिँदैन । कालापानीबाट हामी भारतीय सेनालाई हटाउँछौँ । नेपाली भूमिमा नेपाली सेना नै बस्नेछ ।’

त्यस्तै भारतको चर्चित सञ्चार माध्यम आज तकले आफ्नो अनलाइन संस्करणमा ‘कालापानी विवादमा भारतसँग नेपाली प्रधानमन्त्रीको आक्रोश : एक इन्च जमिन दिनेछैनौँ’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । प्रधानमन्त्री ओलीले नेपाली भूमिबाट भारतीय सेना हटेपछि मात्रै वार्ता हुने भन्दै नेपाल आफ्नो भूमि रक्षा गर्न सक्षम भएको अभिव्यक्ति दिएको आजतकले लेखेको छ ।

त्यस्तै द इण्डियन एक्सप्रेसमा वरिष्ठ पत्रकार युवराज घिमिरेले काठमाण्डौबाट पठाएको ‘नक्सा विवाद : कालापानी क्षेत्र आफ्नो भएको नेपाली प्रधानमन्त्रीको दाबी…’शीर्षकमा समाचार प्रकाशित छ ।

त्यस्तै स्क्रोलले ‘भारतलाई कालापानीबाट सेना फिर्ता लैजान नेपाली प्रधानमन्त्रीको आग्रह’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

त्यस्तै द वीकले पनि आफ्नो अनलाइन संस्करणमा प्रधानमन्त्री ओलीले कालापानी नेपाली भूभाग भएको बताउँदै एक इन्च भूमि कसैको नलिने र कसैलाई नदिने बताएको कुरालाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds