फागुन १४ : त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न ६२ क्याम्पसलाई पत्र

फागुन १४ : त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न ६२ क्याम्पसलाई पत्र

Tribhunvan-University

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । “हामीले आङ्गिक क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएका छौँ”, उनले भने , “सम्बन्धन प्राप्त क्याम्पसले पनि सूचना जारी गरेर तयारी गर्न निर्देशन दिन्छौँ ।” क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्दछ ।

उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ । त्रिविका ६२ आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन ।

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा भएको स्ववियु निर्वाचन २५० मात्र क्याम्पसमा भएको थियो । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी, अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुने छ । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ