चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

Kp sharma sambodhan

काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए ।

सरकार चालेका कदमहरू यस्ता छन् (प्रधानमन्त्रीकाे सम्वाेधनबाट)–

· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ ।

· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

· मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने जानकारी दिए।

राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन्:

-डाँक तार वा टेलिफोन सेवा

-जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा

-हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

-हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा

-प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा

-हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा

-सञ्चार सेवा

-आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

-खानेपानीको सञ्चालन तथा वितरण सेवा

-पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा

-पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा

-अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)

-औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

-फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,

-बैंकिंङ सेवा

-बीमा सेवा

-विद्युत सेवा

-दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

यीबाहेकका सेवा दिने निजी तथा संस्था वा व्यवसाय भने ९ गतेदेखि बन्द गर्नु पर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds