संघीय संसदको बजेट अधिवेशन सुरु (LIVE)

संघीय संसदको बजेट अधिवेशन सुरु (LIVE)

House of Representattive Nepal

फाइल फोटो

काठमाडौं । संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो ।

बैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिइन् ।

जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने सैवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो ।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ । बजेट ल्याउनु अघि संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ ।

बजेटको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथि समेत संसदमा छलफल हुने छ । त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने छ भने जेठ १५ गते बजेट पेशगर्ने छ । संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन गत चैत २४ गते अन्त्य भएको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागु गरेपछि हिउँदे अधिवेशन छिटै अन्त्य गरिएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैशाख २८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ ।

सांसदहरुको तापक्रम (ज्वरु) नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको छ । गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ